
सुर्खेत । सुर्खेतमा भएको जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । बिहीबार बिहान ३ः५५ बजको समयमा भे १ च २५६० नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका–१३ टाकुरे मोडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत डिएसपी एवम् प्रहरी नायव उपरीक्षक बीरेन्द्रविर विश्वकर्माकाअनुसार कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ३ का तन्त कामी, वीरेन्द्र विक, नवराज विक र दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ४ का महेन्द्र शाहीको दुर्घटनामा मृत्यु भएको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर शुभकालिका गाउँपालिका वडा नम्बर ३ का नरी कामी र खाँडाचक्र नगरपालिका वडा नम्बर ९ पाखाका नरेन्द्र विष्ट घाइते भएका छन् । विष्ट जिप चालक हुन् । प्रदेश अस्पताल सुर्खेतमा उपचारारत घाइतेहरुको अवस्था मध्यम रहेको डिएसपी विश्वकर्माले जानकारी दिए । भारतबाट आएकाहरुले जिप रिजर्भ गरेर लगेका थिए ।
दिउँसोको समयमा रातो नम्बर प्लेटका निजी गाडीलाई समितिले यात्रु बोक्न रोक लगाएकाले राति नै हिँडेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक केसीका अनुसार दुर्घटनाको प्रकृति हेर्दा चालक निदाएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।