२०८३ वैशाख १६ , बुधबार

जेहनदार विद्यार्थीलाई निःशुल्क पढ्ने अवसर



सुर्खेत । ‘बी वान ग्रूप अफ कम्पनी’ ले प्लस टु र स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना ल्याएको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १५ जना जेहेनदार विद्यार्थीलाई ३० लाख रुपैयाँ बराबरको छात्रवृत्ति योजना ल्याएको कम्पनीका कार्यकारी निर्देशक त्रिभुवन ढकालले जानकारी दिएका छन् ।

उक्त छात्रवृत्ति योजनामा समावेश हुन यस वर्षको एसईई र प्लस टु सकेर बसेका विद्यार्थीहरूले निःशुल्क अनलाइन माध्यमबाट फर्म भर्नुपर्ने हुन्छ । अनलाइन माध्ययमबाट परेका आवेदनबाट देशभरका १५ उत्कृष्ट विद्यार्थी छनोट गरी मुलुकभर तथा जापान, कोरिया, बेलायत, न्यूजिल्याण्ड र दुवईका जुनसुकै कलेजमा जुनसुकै विषय पढ्न पाउने गरी आंशिक वा पूर्णरुपमा छात्रवृत्तिको व्यवस्था मिलाइने निर्देशक ढकालले बताए ।

यो योजना सन् २०२४ का ल्याइएको उनले बताए । कम्पनीले काठमाण्डौं, चितवन, बुटवल र सुर्खेतमा रहेर शिक्षा, प्रविधि, कृषि र पर्यटन क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले यसअघि २०७७ मा पाँच जना जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराइ सकेको छ ।

छात्रवृत्ति योजनामा समावेश हुने रकम कम्पनीले आफ्नै आम्दानीबाट व्यहोर्ने छ । उनको गरिब अभिभावकहरू छोराछोरीको शैक्षिक अवस्थाका विषयमा चिन्तित रहेका बेला यस छात्रवृत्ति कार्यक्रमले केही सहयोग पुग्ने विश्वास आफूले लिएको ढकालले बताए ।

प्रकाशित मिति : २०८१ जेठ १७ गते बिहीबार