२०८३ वैशाख १५ , मंगलबार
आज धान दिवस

आज धान दिवस : कर्णालीमा सकियो ४७ प्रतिशत रोपाइँ

पानीको अभावमा छट्पटाउँदै किसान


कुलेन्द्र शाही, सुर्खेत । आज (शनिवार) २१ औँ धान दिवस कर्णालीसहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । देशका लगभग सबै ठाउँमा आज (शनिवार) सरकारी तवरबाटै धान दिवस मनाइने गरिन्छ । किसानहरू खेतबारीमा व्यस्त हुन्छन् । ‘मानो रोपेर मुरी फलाउने’ सिजनका रूपमा रहेको बर्खे बाली धान रोप्नमा किसानहरू व्यस्त रहेका छन् । ठाउँ अनुसार गोरुले जोतेर, मेसिनको प्रयोग गरेर वा खनेर रोपाइँ गर्ने गरिन्छ । कर्णाली प्रदेशमा पनि यति बेला रोपाइँ धमाधम भइरहेका छन् ।

केहीले रोपाइँ सकिसकेका छन् भने कतिपयले जग्गा तयारी गरिरहेका छन् । अधिकांश पहाडी भूभाग भएको कर्णालीका १० वटै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ । आज २१ औँ धान दिवसको अवसर पारेर कर्णालीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जलवायु मैत्री धान उत्पादन प्रविधिहरू र चामलबाट तयार गरिएका परिकारहरूको प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयको नेतृत्वमा कृषि विकास निर्देशनालय, कृषि अनुसन्धान निर्देशनालय दशरथपुर, बराहताल गाउँपालिका, जनज्योति मावि बड्डीचौर, विभिन्न गैर सरकारी सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा बड्डीचौर–५ मा कार्यक्रमको आयोजना गरेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए ।

आज धान दिवस भएपनि कर्णालीमा यो पटक भने रोपाइँ धेरै कम मात्रामा भएको छ । असारको १५ गइसक्दा पनि कर्णाली ५० प्रतिशत पनि धान रोपाइँ हुन सकेको छैन । मन्त्रालयका प्रमुख कठायतले दिएको तथ्याङ्कअनुसार कर्णालीमा हाल (१४ असार) सम्म ४७ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । जसमा सबैभन्दा बढी जुम्लामा ९० प्रतिशत र कम सुर्खेतमा २५ प्रतिशत मात्रै सम्पन्न भएको छ । जुम्लामा चैत्रदेखि नै रोपाई हुनेभएकाले सबैभन्दा बढी रोपाई भएको कठायतले बताए ।

किसानले समयमै मल नपाउँदा र सबै क्षेत्रमा समयमै वर्षा नहुँदा कर्णालीमा अहिले गत वर्ष भन्दा कम रोपाइँ भएको हो । सिँचाई अभाव र आकाशको पानीमा निर्भर हुँदा गत वर्षभन्दा केही कम रोपाइँ भएको प्रवक्ता कठायतले बताए । ‘सिचाईको क्षेत्र बढाउन नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘यो वर्ष पानी पर्न केही ढिला भयो । यसको असर रोपाइँमा प¥यो ।’ धान लगायतका खाद्यान्न वाली कम उत्पादन हुने कर्णाली प्रदेशमा समयमै पानी नपर्दा धान तथा बर्से बालीको उत्पादन कम हुने भन्दै किसानहरू चिन्तित बनेका छन् ।

कर्णाली प्रदेशको धेरै ठाउँमा आकाशे पानीको भरमा खेती हुँदै आएको छ । आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण कर्णालीका अधिकांश खेतीयोग्य जमिन अहिलेपनि बाँझै छन् । कर्णालीमा प्रायः जेठदेखि सुरु भई असारको दोस्रो हप्तासम्म वर्षे धानको रोपाइँ हुने गर्दछ । यद्यपी यो वर्ष पानीको अभावमा किसानले आफ्नो खेत बाँझै राख्न बाध्य छन् । सिचाईंको पर्याप्त व्यवस्था नहुँदा किसानले रोपाइँ गरेको धानको बेर्ना खडेरीका कारण खेतमै सुक्न थालेको छ ।

लामो समयको खडेरीको कारण जमिन सुख्खा हुँदा धान रोपाइँ गरिएका जमिनसमेत अहिले चिरा–चिरा परेर फाटेका छन् । एकातिर आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता र अर्को तर्फ रोपाइँ गरेको धान समेत खेतैमा सुक्न थालेपछि कर्णालीवासी दोहोरो मारमा परेका छन् । माथिल्लो कर्णालीमा भने ७० प्रतिशत बढी रोपाइँ भइसकेको छ । गत वर्षको तुलनामा यस पटक २५ प्रतिशतले कम रोपाइ भएको छ ।

आकासे पानीकै भरमा किसान
कर्णालीमा सिँचाई सुविधाको नहुँदा आकाशे पानीको भरमा बस्नु परेको छ । नेपालमा मनसुन भित्रिएसँगै प्रदेशका केही भु–भागमा धान रोपाइँ सुरु हुन थालेको छ । सिँचाइ सुविधा भएका कर्णालीका खेतीयोग्य रोपाइँ सुरु भएपनि अन्य ठाउँमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ । सिँचाइ सुविधा नपुगेका ठाउँमा कहीँ पानीको समस्या छ त कहीँ पानी सिँचाइका लागि चाहिने पूर्वाधारको अपुग हुँदा जसले गर्दा कर्णालीका किसान अझै पनि धान रोप्ने बेला आकाशे पानीकै भर पर्ने गरेका छन् ।

सिम्ता गाउँपालिका किसान वीर बहादुर बुढाले समयमै पानी नपर्दा गाउँमा कसैको पनि रोपाइँ हुन नसकेको गुनासो गरे । ‘समयमै पानी पर्दैन, सिँचाइको सुविधा भएको भए अहिलेसम्म रोपाइ सकिने थियो ।’ उनले भने ‘ सिँचाइको सुविधा छैन, त्यसैले आकाशे पानीकै भरमा बस्नुपरेको छ ।’ खोलाको नजिकमा रहेका फाटँहरुमा केही मात्रामा रोपाइँ भएपनि आकासे पानीको भरमा रोपाइँ गर्नेहरू पानीको प्रतीक्षामा बसेका छन् ।

प्रकाशित मिति : २०८१ असार १६ गते शनिबार