कुलेन्द्र शाही, सुर्खेत ।
कर्णाली प्रदेशसभाका सांसदहरुले एकै वर्षमा गाडी मर्मतका लागि लाखौँ रकम खर्च गरेका छन् । सरकारी सम्पतिमा मोजमस्ती गर्दै सरकारी सम्पतिको कुनैपनि ख्याल नराखि लाखौँ खर्च गरेका हुन् । आर्थिक वर्ष २०८०/०८१ को जेठसम्म कर्णालीका ४० जना सांसद तथा कर्मचारीहरुले गाडी मर्मतमा ४९ लाख बढी रकम खर्च गरेका हुन् ।
४० जना सांसदहरुमा अधिकांशले गाडी मर्मत खर्च भन्दै सचिवालयबाट रकम लिए पनि केही सांसदले भने रकम नलिएको प्रदेश सभा सचिवालयले सिद्धदर्शन दैनिकलाई उपलब्ध गराएको तथ्याङ्गकमा उल्लेख छ । उनीहरुले ४९ लाख २५ हजार ७४ रुपैयाँ खर्च भएको छ । उनीहरुले यसरी गाडी मर्मत खर्चहरुमै आधा करोड रकम खर्च गरेपछि सरकारको निकै आलोचना भएको छ ।
कसको गाडी मर्मतमा कति खर्च ?
गाडी मर्मतमा बढी रकम खर्च गर्ने सबैभन्दा बढी कल्याणी खड्का छिन् । उनले एकै वर्षमा ७ लाख १९ हजार २ रुपैयाँ खर्च गरेकी छिन् । यस्तै सांसद दुर्गबहादुर रावतले ६ लाख ९२ हजार ३ सय २८, घनश्याम भण्डारीले ५ लाख ४६ हजार ५ सय ९५ रुपैयाँ खर्च गरेका छन् ।
४ लाख ४ हजार ६ सय २० रुपैयाँ प्रदेश सभा सचिव जिवराज बुढाथोकी चढ्ने गाडीमा खर्च भएको सचिवालयका सुचना अधिकारी उपेन्द्र गुरुङ्गले जानकारी दिए ।
यस्तै सांसद हिक्मत विष्टले ३ लाख ३० हजार ३ सय ९१ रुपैयाँ, जीत बहादुर मल्लले २ लाख २९ हजार ८ सय ९२, टेकराज पछाईले ३ लाख ७ हजार ८ सय ६५, रनसिङ परियारले २ लाख १७ हजार ९ सय ८०, उपसभामुख यसोदा न्यौपानेले एक लाख ६८ हजार ९८ रुपैयाँ, मुख्यमन्त्री यामलाल कँडेलले ७५ हजार ८ सय ३ र जीवन बहादुर शाहीले ७३ हजार ७ सय ८९ रुपैयाँ खर्च गरेको सुचना अधिकारी गुरुङ्गले जानकारी दिए ।प्रदेशका कानुन् विद् अर्जुन भुसाल चढ्ने गाडीमा ४ हजार ३ सय ५० रुपैयाँ खर्च भएको छ ।
यस्तै कार्यालय प्ररियोजन प्रयोग हुने बा २ झ ५५१ र बा २ झ २४०१ नम्बरको गाडीमा मात्रै ६ लाख १५ हजार ७ सय ९३ रुपैयाँ खर्च भएको छ भने उपसचिव चढ्ने गाडीमा ९३ हजार ४ सय ५१ रुपैयाँ खर्च भएको छ ।
यति धेरै खर्च कसरी भयो ?
प्रदेश सभाका कर्मचारी नै सांसदहरुको सवारी मर्मतमा यतिधेरै रकम खर्च भएपछि अचम्ममा परेका छन् । प्रदेश सभाका एक कर्मचारीले भने, ‘सांसदहरुको गाडी खर्च चाहिँ अस्वाभाविक नै हो ।’ उहाँहरु त बाहिर जानुपर्छ भनेर विभिन्न बहाना बनाउनुहुन्छ । जहँ गएपनि गाडी बिग्रियो भनेर रकम भुक्तानी गर्न लगाउनुहून्छ ।’
यता प्रदेश सभा सचिव जीवराज बुढाथोकीले आफ्नो गाडीमा ४ लाख बढी खर्च आउनु सामान्य भएको बताए ।उनले आफु चढ्ने गाडी पुरानो भएको र विभिन्न कार्यक्रम जाने भएकाले खर्च बढी आएको बताए । ‘म विभिन्न कार्यक्रममा जान्छु । त्यति मात्रै होइन् काठमाडौँ तथा अन्य प्रदेशमा पनि गाडीमै जान्छु ’ उनले भने, ‘गाडी समेत पुरानो हो । त्यही भएर खर्च बढी आयो होला । तर यो खर्च सामान्य हो ।’
के भन्छन् सांसदहरु ?
सांसद कल्याणी खड्काले आफ्नो गाडी गत असार ९ गते दुर्घटनमा परेकाले खर्च बढी आएको बताइन् । उनले गाडी पुरानो र दुर्घटनामा परेर ध्वस्त भएकाले ७ लाख खर्च आएको बताइन् । ‘म गत वर्ष चौरजहारीमा दुर्घटनामा परे । गाडी पनि पुरानो थियो । त्यसैमा दुर्घटनामा परेर ध्वस्त भयो । त्यही भएर मर्मत खर्च यति धेरै आयो होला ।’ उनले भनिन् ।
यस्तै सांसद घनश्याम भण्डारीले बाटोको समस्याले गाडी मर्मत खर्च बढी आएको बताए । ‘म कर्णालीका ३ जिल्लामा गएको छैन् । अन्य ७ जिल्लामा गाडी गएको छु । बाटोको समस्या त्यस्तै छ ।’ त्यसैमा गाडी पुरानो भयो ।’ त्यसैले केही रकम बढी आयो होला उनले भने ।’ उनले पहिलेका सांसद भन्दा आफुहरु अनुगमन तथा विभिन्न कार्यक्रमहरु बढी जाने भएकाले पनि खर्च बढी आएको बताए ।
मर्मत खर्च कसरी हुन्छ भुक्तानी ?
प्रदेश सभाका समितिका सभापति रहेका दलका नेताहरूले प्रयोग गर्ने गाडी बिग्रियो भने शुरूमा मर्मत गर्ने ग्यारेजमा देखाइन्छ । प्रदेश सभा सचिवालयका सुचना अधिकारी गुरुङ्गले गाडी मर्मत रकम भुक्तानी कम्पनीको नाम दिने गरेको बताए । उनले भने ‘गाडी मर्मतको रकम दाबी ग्यारेजले गर्दछ र मर्मत कार्य गर्दा पहिले के के मर्मत गर्ने सोको अनुमानित खर्च अर्थात स्टिमेट पेश भएर हुने गर्दछ ।’ यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।