२०८३ वैशाख ११ , शुक्रबार

वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनको योजना नहुँदा चुनौती



सुर्खेत। वीरेन्द्रनगर नगर क्षेत्रभित्र उत्पादन हुने फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि छलफल गरिएको छ । शुक्रवार वीरेन्द्रनगरमा आयोजित जैविक विविधता र वातावरणका विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको हो ।

छलफलका सहभागीहरूले नगर क्षेत्रभित्र उत्पादन हुने फोहोरको उचित व्यवस्थापनका लागि प्रभावकारी योजना नहुँदा चुनौती थपिँदै गएको बताए ।वीरेन्द्रनगर नगरपालिका–८, का वडाध्यक्ष टिकाराम शर्माले वडासँग पर्याप्त स्रोत साधन नहुनुले दिनानुदिन फोहोरमैला व्यवस्थापन मुख्य चुनौती बन्दै जान थालेको बताए ।

वीरेन्द्रनगरको मात्र नभई समग्र कर्णालीको समस्या भएको उल्लेख गर्दै यहाँको दिगो फोहोर व्यवस्थापन प्रदेश सरकारको नीतिमा नपुर्नु दुखद रहेको वडाध्यक्ष शर्माको भनाई थियो । वडा तहमा फोहोरमैला व्यवस्थापनमा भूमिका खेलको भए पनि उपल्ला निकायले प्रभावकारी योजनासहित स्रोतको व्यवस्थापन नगरिदिँदा बदनाम हुने अवस्था आएको उनको भनाई थियो ।

वडाले पाएको अधिकार अनुरूप फोहोर व्यवस्थापनमा तल्लो स्तरसम्म स्रोत नपुगेसम्म समस्या समाधान नहुने भन्दै वडाध्यक्ष शर्माले वडाले फोहोर व्यवस्थापन गर्न नसक्ने बताए । फोहोर मैला व्यवस्थापनमा भएका विद्यमान व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन नहुनुले पनि फोहोर व्यवस्थापनमा चुनौती रहेको उनले बताए ।

यस्तै, वडा नम्बर १ का अध्यक्ष दिनेश खत्रीले नगर क्षेत्रबाट उत्पादन भएको फोहोरका कारण वडावासीले सास्ती भोग्नु परेको बताए । फोहोर विसर्जन क्षेत्रमा जाने क्रममा गाडीहरूले सुरक्षाका उपाय नअपनाउने र जथाभाबी ल्याण्डफिल्ड साइडमा फोहोर विसर्जन गरिदा स्थानीय दुर्गन्धको मार खेप्न बाध्य भएको उनको भनाई थियो ।

फोहोर सङ्कलनको जिम्मा पाएका ठेकेदारको लापरबाहीले झन् समस्या भएको उनले बताए । यस्तै, वीरेन्द्रनगर नगरपालिकाको वातावरण शाखाका प्रमुख यामलाल गिरीले नगर क्षेत्रभित्र कुहिने भन्दा पनि नकुहिने फोहोरको व्यवस्थापनमा चुनौती रहेको उल्लेख गर्दै नागरिकमा चेतनाभन्दा पनि व्यवहारमा परिवर्तन आउन नसक्दा समस्या भएको बताए ।

विशेष गरी नागरिकहरूले घरबाट फोहोर निकाल्दा कुहिने र नकुहिने फोहोर अलग नगर्दा समस्या रहेको उनको भनाई थियो । नगरपालिकाले फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि विभिन्न योजनाहरू अगाडि सारेको उल्लेख गर्दै उनले वीरेन्द्रनगरलाई स्वच्छ राख्न सबैको हातेमालो आवश्यक रहेको बताए ।

यस्तै, पारिस्थितिक प्रणाली तथा वन्यजन्तु माथि हुने जोखिम घटाइ प्रकृति संरक्षण र सुरक्षित भविष्यसहितको समृद्धि  सुनिश्चित गर्न कर्णालीमा युएसएड जल जङ्गल परियोजना लागु भएको जल जङ्गल परियोजनाका प्रतिनिधि विनोद शाहीले बताए । सुर्खेतमा जैविक विविधता र वातावरण संरक्षण र दिगो फोहोर व्यवस्थापनका लागि आगामी दिनमा वीरेन्द्रनगरसँग मिलेर काम गर्ने गरी परियोजना तयार भइरहेको उनले बताए ।

वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनको मोडल बनाएर प्रभावकारी कार्यान्वयनको पाटोमा लैजान सके मात्रै नगर क्षेत्रलाई सफा राख्न सकिने छलफलका सहभागीहरूले जोड दिएका थिए । छलफलमा नगरपालिकाका १२ वटै वडाका वडाध्यक्ष तथा सरसफाइका क्षेत्रमा काम गर्ने संस्थाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार