२०८३ वैशाख १२ , शनिबार

सल्यानमा बलात्कार आरोपमा दुई जना पक्राउ



सल्यान । सल्यानमा बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलका २१ वर्षीय बसन्त बुढा र जाजरकोटको जुनीचाँदे गाउँपालिका– ८ घर भएका, हाल सल्यान देवस्थलमै बस्दै आएका २४ वर्षीय मानबहादुर रावत छन् ।

उनीहरूलाई प्रहरीले साउन २ गते सल्लीबजारबाट पक्राउ गरेको हो । यही घटनामा संलग्न भएका आरोपित अर्का एक जना भने फरार छन् । फरार रहेका अर्का एक जना आरोपितको खोजी तीव्र रूपमा भइरहेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए ।

तीन युवाले घरमा नाबालक छोरासँगै सुतिरहेकी एक २३ वर्षीया महिलाको बलात्कार गरेको आरोप छ । पीडित महिला सुतिरहेका बेला तीन जना युवाले असार ३१ गते राति १२ बजेतिर ढोकामा हानेर खोल्न लगाएका थिए । त्यसपछि जबरजस्ती कोठामा प्रवेश गरी महिलालाई लछारपछार गर्दै बार्दलीमा ल्याएका थिए ।

उनीहरूले आफूलाई घिसार्दै शौचालय नजिक पु¥याएर बलात्कार गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन् । प्रहरी प्रवक्ता खत्रीका अनुसार पीडित महिला श्रीमानसँगको खटपटपछि नाबालक छोरासहित माइती घरमा बस्दै आएकी थिइन् । उनका अभिभावक रोजगारी सिलसिलामा भारतमा बस्दै आएकाले घरमा आमाछोरा मात्रै थिए ।

आफूमाथि भएको घटनाबारे पीडित महिलाले साउन १ गते जिल्ला प्रहरी कार्यालय सल्यान, खलंगामा पुगेर तीन जनाविरूद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि दोस्रो दिन प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । उनीहरू विरूद्ध अदालतबाट म्याद थप भइ घटना अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मंगलबार