
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कर्णाली प्रदेश सरकारले आव २०८१/०८२ का लागि ल्याएको बजेट संशोधन हुने संकेत गरेका छन्। मुख्यमन्त्री कार्यालयमा पत्रकारहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा उनले आफ्नै सरकारले ल्याएको बजेट आफ्नो नियन्त्रणमा नरहेको घुमाउरो पाराले स्वीकार गरे।
शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारसँग अन्तरंग छलफल गर्दै धेरै कुरा सुधार गर्न बाँकी रहेको वताए। सुरुमै उनले उपस्थित पत्रकारसँग प्रश्नोत्तर मात्रै नभई सल्लाह तथा सुझावका लागि आमन्त्रण गरिएको उल्लेख गरे। उनले पत्रकारले दिएका सल्लाह र सुझावले प्राथमिकता पाउने विश्वास दिलाए।
छलफलमा पत्रकारहरुले विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए ।जिज्ञासाको मुख्यमन्त्री कँडेलले जवाफ दिएका थिए।सिद्धदर्शन दैनिकका सम्पादक चिन्तामणि शर्माले मुख्यमन्त्री कँडेलले आफुहरुको अपेक्षाभन्दा केही ढिलाई तरिकाले काम गरेको बताए ।
उनले भने ‘हामीले चाहेको तपाईं हिन्दी फिल्मको अनिल कपुरवाला मुख्यमन्त्री हो, हाम्रो अपेक्षा त्यो थियो, तपाईँले कर्णालीमा नयाँ रूपान्तरण ल्याउन सक्नुहुन्छ भन्ने आशा थियो तर, तपाईंको स्पिड अझै १ नम्बर मै छ किन रु’ उनले प्रश्न मात्रै नभई पर्यटकहरु कर्णालीमा भित्र्याउने वातावरण सिर्जना गर्न सुझाव दिए ।
पत्रकार शर्माको जवाफमा मुख्यमन्त्री कँडेलले जवाफमा कँडेलले दलीय सिस्टममा सामूहिक यात्रामा जानुपर्ने भएकाले सोचेअनुरुप अघि बढ्न सक्ने अवस्था नभएको बताए । उनले आफु एक्लै भए अनिल कपुरकै स्टाइलमा अघि बढ्ने बताए । साथै कँडेलले आफ्नो १०० दिनको अवधिमा अपेक्षित गति दिन नसकेपनि निराशाजनक नै अवस्था भने नरहेको प्रस्ट पारे ।
पत्रकार प्रकाश पन्तले सरकारले गति लिन नसकेको भन्दै गति बढाउन सुझाव दिए। पत्रकार नेत्र केसीले सरकारलाई छिटो पूर्णता दिन अनुरोध गरे। रातोपाटीका पङ्खबहादुर शाही र अनलाइन खबरका यज्ञ खत्रीले योजना आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाई, ढिला सम्पत्ति विवरण पेश गरेको र सरकार पुर्नगठनमा ढिलाइ लगायतका प्रश्नहरु राखेका थिए ।
जवाफमा मुख्यमन्त्री कँडेलले योजना आयोग रिक्त रहेको वारे सल्लाह भइरहेका बेला परिस्थिति बदलिएकाले रिक्त भएको जानकारी दिए। उनले नयाँ परिस्थिति निर्माण भएपछि सबैको सल्लाह लिएर अगाडि बढ्ने प्रतिवद्धता जनाए । साथै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशमा पुराना योजनाहरू हराउने गरी नयाँ योजना छान्ने परम्परा भएको हुँदा आफु त्यसमा नलाग्ने बताउँदै कर्णाली प्रदेशलाई बदल्ने कुरामै लाग्ने दाबी गरे ।
उनले आफुले एकसय दिनमा गरेका केही कामहरूबारे गरेका मौखिक रुपमा जानकारी गराएका थिए । उनले कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन, चिसाँपानी–वीरेन्द्रनगर ३३ केभीए विद्युत् लाइनमा भएको विवाद समाधान गर्नेदेखि २३ वटा मन्त्रिपरिषद् बैठकहरू बसेको जनाए ।
मुख्यमन्त्री कँडेलले यो अवधिमा आफूले गरेका गतिविधि सार्वजनिक गर्न चाहना हुँदाहुँदै बदलिएको परिस्थितिका कारण हुन नसकेको जवाफ दिए । मन्त्रालय बाँडफाँडको मोडालिटी बन्ने सङ्केत गर्दै मुख्यमन्त्री कँडेलले सरकारलाई पूर्णता दिने विषयमा अझै अनिश्चित रहेको बताए ।
सत्ता साझेदार दल नेपाली कांग्रेस आन्तरिक छलफलमा व्यस्त रहेकोले केही समय ढिलाइ भएको उनले बताए । मुख्यमन्त्री कँडेलले भने ‘सबैले यसअघि माओवादीका मन्त्रीहरू भएको र अहिले खाली रहेको ठाउँमा भर्ने त होला भनेर चर्चा भइरहेको छ । त्यो हुँदैन, मोडालिटी नै चेन्ज हुन सक्छ । यद्यपि त्यो नहुन पनि सक्छ ।’
साथै मुख्यमन्त्री कँडेलले कांग्रेस सुर्खेततिर नभेटिएको भन्दै कांग्रेसलाई खोज्न काठमाडौं जानुपर्ने स्थिति आएको बताए । केही दिनअघि प्रदेश सभा बैठकमा समेत काँग्रेसका १४ मध्ये ४ जना सांसद मात्रै उपस्थित हुँदा बैठक स्थगित गर्नुपरेको भन्दै उनले भने, ‘उहाँहरू सबै काठमाडौँ हुनुहुन्छ । अब आफै खोज्न काठमाडौँ जानुपर्ने हो कि !’ कांग्रेसको ढिलाइका कारण प्रदेश सरकारलाई पूर्णता दिन नसकिरहेको उनको भनाइ छ।
कँडेलले भने, ‘कांग्रेसका साथीहरू आन्तरिक छलफलमै हुनुहुन्छ जस्तो छ । ढिलाइ किन भइरहेको छ, उहाँहरूको कुरा मलाई थाह भएन ।’ यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।
थ्यग कभलत