
चिसापानी, बैरीतालमा नदीबाट बालुवा निकाल्दै स्क्यावेटर ।
कुलेन्द्र शाही, सुर्खेत
जाजरकोट नलगाड नगरपालिका–१ चिउरीमा नदी र खोलाको अवैध दोहन भइरहेको पाइएको छ । वडाको चिसापानी, बैरीतालमा दुईवटा खानी लगाएर दैनिक अवैध तरिकाले स्क्यावेटर लगाएर भेरी नदीबाट बालुवा निकाल्ने गरेको पाइएको हो । नगरपालिकाबाट अनुमति नै नलिएर खोला तथा नदीजन्य पदार्थ निकाल्ने गरेको स्थानीयले बताएका छन् ।
चिसापानी, बैरीतालमा खानी लगाएर खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको हुँदा त्यहाँका स्थानीय चिन्तित भएका छन् । नदीमा अवैध उत्खनन गर्न थालेपछि आफूहरूको बस्ती नै जोखिममा परेको त्यहाँका स्थानीयको भनाइ छ । त्यो खोलामा व्यवस्थित अनुगमन नहुँदा नदीको खुल्लमखुल्ला उत्खनन हुने गरेको हो ।
उनीहरूले बालुवा निकालेपछि भेरी नदीको बहाव अनियन्त्रित हुन थालेको छ । भेरी नदीबाट बालुवा निकाल्ने कार्यले सिङ्गै चिउरी गाउँलाई जोखिम बनाइरहेको छ भने, चिसापानी बैरी तालका धनवीर चनारा, कृष्ण महर, लालबहादुर महर, चैतिक मेनी, धनिकला थापा, नारायण खत्री, भक्तबहादुर सुनार, बादल घर्ती, कर्ण घर्ती, ऐवान चनारा, दलित घर्ती, देवी विटालुको जग्गामा प्रत्यक्ष हानी गरेको छ ।
सहमति बिना नै जग्गामा स्क्यावेटर लगाएर बालुवा निकासी गर्ने, ट्याक्टर, टिप्परहरुहरुमा ढुवानी हुने गरेको स्थानीय देवी विटालुले जानकारी दिएकी छन् । स्क्यावेटरले नियमित रूपमा नदीको बालुवा तानेपछि भेरी नदीको छालले हाम्रो जग्गालाई बगाएर लिने गरेको छ देवीले भनिन् –‘भेरी नदीको छेउमा रहेको जग्गामा अस्थायी आवास बनाएका छौँ, नदीले बगाउँछ कि भनेर चिन्तै चिन्तामा दिन बिताउने गरेका छौँ ।’
नदीजन्य पदार्थको उत्खनन कार्यले गर्दा स्थानीय मारमा पर्ने गरेका छन् । अवैध तरिकाले स्क्यावेटर प्रयोग गरेर भेरी नदीबाट बालुवा तान्नेमा चिउरीकै वीरेन्द्र चनारा, मानबहादुर घेत्माल, सत्यदेव चनारा, बलजीत रावत, राजु घेत्माल, पठवीर चनारा, मनोज चनारा, पर्से घेत्माल रहेको स्थानीयले बताएका छन् । चिसापानी, बैरीताल जाजरकोटको नलगाड नगरपालिका–१ र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ को सिमा क्षेत्र हो ।
तर त्यहाँका सम्बन्धित निकायको मिलेमतोमा अवैध खुल्लमखुल्ला नदी दोहन भइरहेको उनीहरूको भनाइ छ । विगत तीन वर्ष पहिलादेखि निरन्तर रूपमा स्क्यावेटरले नदीबाट बालुवा तान्ने गरेपछि नदी किनारको जमिन झन् कमजोर बन्दै गएको स्थानीय धनीकला थापाले बताइन् ।
‘भूकम्पले घर भत्किसके, सरकारले दिएको पैसाले नदीको छेउछाउमा अस्थायी आवास बनाएका छौँ, त्यही पनि वर्षायाममा यसरी स्क्यावेटर लगाएर नदीबाट बालुवा तान्ने गरेपछि कुनदिन बाढी आएर अस्थायी आवाससहित हामीलाई पनि बगाएर लिने हो भन्ने चिन्ताले राति निद्रा पनि लाग्दैन । उनले भनिन् ।’
अवैध बालुवा कँहा हुन्छ बिक्री ?
आधा दर्जनभन्दा बढी मान्छेको संलग्नतामा दुई ठाउँमा खानी लगाएर नदीबाट निकालिएको बालुवालाई उनीहरूले सडक, खानेपानी, सिँचाइ, भवन जस्ता निर्माण परियोजनामा बिक्री गर्ने गरेका स्रोतले बताएको छ ।
प्रतिघनमिटर ३ देखि ४ हजार मूल्यमा बिक्री वितरण गर्दै आएको बालुवालाई नलगाड नगरपालिकाको लहँ, थाप्ला, भारगाउँ डाँडागाउँ, करुवा, चाउलेचौर, कैना, दल्ली, कालिमाटी, छेप्का, बारेकोट गाउँपालिका, रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राँडीसम्म बिक्री वितरण गर्दै स्रोतले बतायो ।
गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको सङ्कलन तथा उपयोग गर्न वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआइए) गर्नुको साथै सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था भएपनि उनीहरूले नियमविपरित उत्खनन गरेको स्रोतको भनाइ छ ।
नदीजन्य गिट्टी, बालुवा सङ्कलन, बिक्री वितरण तथा उपयोग सम्बन्धी हालसम्म नलगाड नगरपालिकाले कुनै पनि ऐन, नियमावली, निर्देशिका तथा मापदण्ड जारी गरेको छैन । सम्बन्धित वडाध्यक्ष धर्मेन्द्र महरले खानी लगाएर नदीबाट बालुवा निकाली रहेका व्यक्तिहरूबाट एकमुष्ट रकम असुली गरिरहेको स्थानीयले आरोप लगाएका छन् ।

के भन्छन् नगर प्रमुख तथा वडाध्यक्ष ?
नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावतले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको आफूलाई सुन्नमा आएको बताए । उनले अवैध रूपमा नभई सामान्य जग्गाको छेउछाउमा रहेको बालुवा निकालेको बताए । ‘मलाई उत्खनन भएको छ, भनेर सुन्नमा आएको थियो ।’ उनले भने, ‘तर सुन्नमा आएको जस्तो अवैध रूपमा उत्खनन भएको होइन । त्यहाँकै स्थानीयले आफ्नै जग्गामा भएको बालुवा गिट्टी निकाल्नु भएको हो ।’ उनले नगरपालिकाले इआईको लागि टेन्डर आह्वान गर्दा कुनै पनि ठेकेदारले टेन्डर नहालेको बताए ।
नगरप्रमुख रावतले अबको दिनमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा रोक लगाउने आश्वासन दिए । उनले प्राविधिकलाई मूल्याङ्कन गर्न लगाएर पुनः टेण्डरको आह्वान गर्ने जानकारी दिए । यता वडा नम्बर १ का वडाध्यक्ष धनबहादुर महरले पनि सामान्य रूपमा जग्गाको छेउछाउमा बालुवा गिट्टी निकाल्ने गरेको बताए ।
उनले नियमविपरित उत्खनन गरेको पाइएमा कानुन अनुसार आफू एक्सनमा जाने बताए । यता जिल्ला प्रहरी कार्यालय जाजरकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भएको कुनै पनि जानकारी नआएको जनाएको छ ।
प्रहरी चौकी दल्लीका प्रहरी हवलदार दीपेन्द्र महताराले आफूहरू नियमित रूपमा अनुगमन गरेपनि उत्खनन गरेको नदेखेको बताए । ‘हामी दैनिक त्यहाँ गइरहेकै हुन्छौँ । तर पनि उत्खनन गरेको केही देख्दैनौँ ।’ उनले भने ‘के रहेछ हामी बुझ्छौँ । यदि त्यस्तो गरेको पाइएमा नियन्त्रणमा लिएर अनुसन्धान थाल्छौ ।’ बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मको समयमा उक्त स्थानमा स्क्यावेटर प्रयोग गरेर भेरी नदीबाट कसैलाई पनि बालुवा निकाल्न नदिएको उनले बताए ।
भूकम्पबाट एकै घरका १३ ले गुमाएका थिए ज्यान
नलगाड नगरपालिका–१ को चिउरी गाउँ भु–क्षयको उच्च जोखिममा रहेको गाउँ हो । यस गाउँमा २०० भन्दा बढी घरधुरी दलित समुदायले बसोबास गर्दै आएका छन् । भिरालो जमिन, गाउँको तलतिर सदाबहार बगिरहने भेरी नदीले जमिनलाई खार्दै लिएको छ । भेरी नदीले जमिन खार्दै लिएपछि चिउरी गाउँको बेस कमजोर बनेर भासिँदै गएको छ । सिङ्गै गाउँको जमिन भासिन थालेपछि तत्कालीन जिल्ला परिषद्बाट उक्त गाउँलाई अर्को ठाउँमा स्थानान्तरण गर्ने निर्णय पारित गरेको थियो ।
गत कात्तिक १७ गते मध्ये रातिको भूकम्पबाट चिउरी गाउँका मात्रै २५ जनाको मृत्यु भएकोमा एकै घरका १३ जनाले ज्यान गुमाएका थिए । भूकम्पको प्रकम्पनले जमिन चिरा–चिरा भएर भासिँदा गाउँ छोड्न त्यहाँका अधिकांश नागरिक तयार भएका छन् । आर्थिक रूपमा कमजोर त्यहाँका नागरिक सुरक्षित स्थानमा स्थानान्तरण हुन सकेका छैनन् ।
तत्कालीन जिल्ला परिषद्बाट निर्णय पारित गरिएता पनि त्यो गाउँलाई स्थानान्तरण गर्न सरकारी पक्षबाट कुनै पहल नभएको स्थानीयको भनाई छ । भिरालो पाखो जमिनमा मकै, कोदो, महुँ, जौ अन्नबालीको खेती गरेर जीवन निर्वाह गर्नु त्यस गाउँका नागरिकको बाध्यता हो । खानेपानीको अभाव झेल्दै आएको गाउँमा सिँचाइ कुलोको परिकल्पना समेत गरिएको छैन ।
चिउरी गाउँको बायाँ साइटको तलतिर छेप्का, कालिमाटी र दल्ली रहेको छ । नलगाड नदीको किनारमा दुई दर्जन बढी घरपरिवार बादी समुदायको बसोबास छ । बादी समुदायसँग भेरी नदीका माछा मार्ने बाहेक अर्को पेसा छैन । यहाँका बादी समुदायले जाल हानेर, पासा थापेर बाह्रै महिना माछा मार्ने गरिरहेका छन् । यो समाचारको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।