
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–४ हर्रेमा अवस्थित छ, एउटा चर्चित ठुलो हर्रे होमस्टे । भेरीगंगा–४ का रुपसिङ सुनारले २०८० जेठ १७ गते होमस्टे बनाउने उद्देश्यले उनले उक्त स्टे सञ्चालन गरेका हुन् । उनी पूर्व भेरीगंगा चारका वडा सदस्य समेत हुन् । उनी २०७४ सालको चुनावमा नेपाली काँग्रेस पार्टीबाट वडा सदस्य पदमा निर्वाचित भएका थिए ।
भेरीगंगा नगरपालिकाले २०७८ मा हर्रेमा होमस्टे सम्बन्धी त्यहाँका स्थानीयलाई तालिम दिएको थियो । करिब १४ जनाले उक्त तालिम लिएका थिए । सुनार वडा सदस्य थिए उनका छोराले होमस्टे सम्बन्धी तालिम लिएका थिए । तालिम लिएका १३ जनाले अहिलेसम्म पनि होमस्टे सञ्चालन गरेका छैनन् । तर उनी र उनका छोरा मिलेर हर्रेमा होमस्टे सञ्चालन गरेका छन् । जेठ १७ गते करिब १० लाख बढी रकम खर्च गरेर आफूले होमस्टे सञ्चालन गरेका उनी बताउँछन् । होमस्टे सञ्चालन करिब ३ महिना मात्रै भयो ।
तर होमस्टेमा आउने ग्राहकको क्रेज बढ्दै गएको छ । यहाँ सञ्चालित होमस्टेको विशेषता गाउँले जनजीवन, सत्कार, स्थानीय खानपान, सरसफाइ र स्थानीय संस्कृतिको आनन्द रहेको होमस्टे सञ्चालक सुनार बताउँछन् । सुनारका अनुसार यहाँ आइपुग्ने पर्यटक अर्ग्यानिक खाना र यहाँको वातावरणसँग रम्न पाउँछन् ।आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बनाएको होमस्टेमा दैनिक सयौँ संख्याका ग्राहक आउने गर्दछन् ।
‘करिब १० लाख बढी रकममा होमस्टे सञ्चालन गरेको हुँ । छोटो समयमा भएपनि निकै चर्चा कमाएको छ ।’ उनी भन्छन् ‘दैनिक फाट्टफुट्ट रूपमा मान्छे आइरहेकै छन् । यसैमा खुसी छु ।’ स्थानीय स्तरमा रहेका मौलिक ज्ञान सिपको प्रयोग गरेर नै यो व्यवसाय सञ्चालन गर्न सकिने भएकाले आफूले होमस्टे सञ्चालन गरेको उनले बताए । काठ र खोयाले ढाकेर होमस्टे बनाएका छन् ।
होमस्टेमा बास बस्न आउने पर्यटकबाट मनग्य आम्दानी हुने गरेको उनको भनाइ छ । सिजनमा पर्यटकको चाप धान्न नसकेकोले अझै क्षमता विस्तार गर्न लागिएको सुनारले बताए । उनले ३ जनालाई ज्याला दिएर काममा लगाएका छन् भने एकलाई मासिक तलब दिएर रोजगारी दिएका छन् ।
पाउँछन् अर्ग्यानिक खानेकुरा
सुनारले सञ्चालन गरेको होमस्टेमा सबै अर्ग्यानिक खानेकुरा मात्रै पाउँछन् । होमस्टेमा साग सिस्नो, कोदोको ढिँडो, रोटी, सेल, स्थानीय लोकल कुखुरा, दही, मही, घिउ, फलफूल, तरकारी, खानाका परिकार यस होमस्टेको विशेषता हो । सुनारले करिब ६० भन्दा बढी बाख्रा पालेका छन् । होमस्टेमा आवश्यक परेको खसीको मासु उनले आफ्नै घरबाट ल्याउँछन् ।
होमस्टेका कारण स्थानीयका खाद्यान्न, तरकारी, फलफूलदेखि कृषिजन्य र पशु उत्पादनसमेत विक्री भइरहेको छ । तराई, सुर्खेत, छिन्चु र आवतजावत गर्ने मान्छे उनको होमस्टेमा बसेर अर्ग्यानिक खानेकुराहरू खाने गर्दछन् । होमस्टे करिब ११ सय मिटर उचाइमा रहेको छ । यस होमस्टेबाट सूर्योदयको दृश्य हेर्न सकिनुका दक्षिण हेर्दा देखिने बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यका, बबई नदी, बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रका चुरे पहाड र तराईको फाँट ।
उत्तरतिर हेर्दा पहाडका अग्ला पहाडहरू, सुर्खेत उपत्यका, भेरी नदी रुकुमको सिस्ने हिमाल हेर्न सकिन्छ । घरको अवस्था कमजोर भएका सुनार पहिले भारत जाने आउने गर्थे । यसरी नै निरन्तर घर खर्च धानिरहेका थिए । केही समयदेखि भने बाख्रा पालन र होमस्टे सञ्चालनबाट रमाइरहेका छन् । उनका दुई छोरा र एक छोरी छन् । उनको जेठो छोरा होमस्टेमै व्यस्त छन्, कान्छो छोरा काठमाडौँमा अध्ययन गरिरहेका छन् । उनले छोरीलाई भने अध्ययनका लागि सुर्खेत पठाएका छन् ।