
कुलेन्द्र शाही, सुर्खेत
वीरेन्द्रनगर–१३ करेखोलामा प्रदेशकै ठुलो कर्णाली ह्याचरी उद्योग सञ्चालनमा रहेको छ। आजभन्दा ६ वर्ष पहिले अर्थात् २०७५ सालमा ठुलो रकम लगानी गरेर वीरेन्द्रनगरका पाण्डे फ्रेस हाउसका सञ्चालक पूर्णप्रसाद पाण्डे र उनका दुई भाइहरू मिलेर ह्याचरी उद्योगको स्थापना गरेका थिए । कर्णालीमा कुखुरा व्यवसायको लागि ठुलो बजार नभए पनि करिब ५० करोडको लगानीमा ह्याचरी उद्योगको स्थापना गरिएको थियो।
कर्णालीमा भनेको समयमा कुखुराका चल्लाहरू नपाउने समस्या थियो। पाण्डे भन्छन्, ‘पहिले आफूहरू लाखौँ रकम बोकेर चितवन जाँदा पनि कुखुराका चल्लाहरू नपाएर रित्तै फर्किएको अनुभव छ।’ कर्णालीमा कुखुराको चल्ला अभाव हुन नदिने उद्देश्य राखेर उद्योग स्थापना गरिएको उनको भनाइ छ। कर्णालीलाई पनि मासु र कुखुरामा आत्मनिर्भर बनाउने उद्देश्यले ह्याचरी उद्योगको स्थापना गर्ने सोच आएको उनको भनाइ छ ।
फर्ममा निर्माण गरिएका संरचनाहरू विशाल र अत्याधुनिक प्रविधियुक्त छन्। जडान गरेका आधुनिक खोरहरू मलेसियाबाट ल्याइएको थियो भने फर्ममा जडान गरिएका खोर बनाउने प्राविधिकहरूसमेत बङ्गलादेशबाट बोलाइएको थियो । ठुलो आशा र विश्वासले सुरु गरिएको ह्याचरीलाई देशव्यापी रूपमा फैलिएको कोरोना भाइरसले निकै दुख दियो। कोरोना भाइरसले कुखुरा बिक्री नहुँदा व्यवसायमा निकै घाटा व्यहोर्नु परेका उनी बताउँछन् ।
एक पटक बिक्री नभएका १ लाख कुखुराको चल्ला जमिनमा गाड्नु परेको तीतो यथार्थ उनले खुलासा गरे। एक सातामा ४० हजार कुखुराका चल्ला उत्पादन गर्दै आएको उद्योगको क्षमता त्यो भन्दा पनि दोब्बर रहेको सञ्चालक पाण्डेले जानकारी दिए । उनले आफूले सञ्चालन गरेको ह्याचरी कर्णाली प्रदेशकै सबैभन्दा ठुलो ह्याचरी उद्योग भएको दाबी गरे ।

‘कर्णालीका कुनै पनि जिल्लामा यति ठुलो ह्याचरी उद्योग छैन,’ उनले भने, ‘लगानी र उत्पादन दुवै हिसाबले यो उद्योग सबैभन्दा ठुलो उद्योग हो ।’ उद्योगमा हाल ३ वटा कुखुरा घर (क्लोज हाउस) रहेका छन् । ती घरहरू बनाउन तीन जना प्राविधिकलाई करिब ४५ दिन बढी समय लागेको थियो । उनले सञ्चालन गरेको उद्योगमा अण्डा उत्पादनका लागि हाल १६ हजार बढी कुखुरा राखिएका छन् । कुखुराका लागि मौसम अनुसारको तातो चिसो वातावरण बनाइएको छ।
वातानुकूलित घरमा स्वचालित रूपमा चलेको मेसिनबाट तापक्रमलाई नियन्त्रणमा राखिएको हुन्छ । कुखुराका निम्ति दाना र पानी वितरणको व्यवस्थासमेत अटोमेटिक सिस्टममार्फत नै हुने गरेको उनको भनाइ छ । ‘एक ठाउँमा दाना र पानी राखेपछि त्यो सबै कुखुरासम्म सिस्टमले नै पु¥याउछ । जसका कारण मान्छेले कुखुरालाई छोइराख्नु पर्दैन,’ पाण्डेले भने, ‘यसो गर्दा मान्छेका कारण कुखुरा बिरामी हुने सम्भावना ज्यादै कम हुन्छ ।’
कुखुराको नियमित स्वास्थ्य उपचारका लागि उद्योगमा पशु चिकित्सक पनि राखिएको छ । कुखुरामा कुनै स्वास्थ्य समस्या देखिए ती पशु चिकित्सकले उद्योग स्थलमै रहेको प्रयोगशालामा जाँच गरेर औषधोपचार गर्ने गरेका छन् । उद्योगलाई व्यवस्थितरुपमा सञ्चालन गर्न पाण्डे दाजुभाइ रात दिन नभनेर उद्योगको काममा निरन्तर खटिरहेका छन् । उद्योगले छोटो समयमै कर्णालीसहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश धेरै जिल्लामा आफ्नो उत्पादन पु¥याउन सफल भएको छ ।

सञ्चालक पाण्डेले उत्पादन गरेका अण्डा र चल्ला सुर्खेत, जाजरकोट, धनगढी, बाँके, बर्दिया र सल्यान लगायतका जिल्लाहरूमा बिक्री वितरण भइरहेको छ । ‘अरू धेरै जिल्लाबाट समेत माग भइरहेको छ,’ उनले भने ‘माग बमोजिम पु¥याउन बजार विस्तारका क्रममा छौँ ।’अहिले झन्डै ५० कठ्ठामा व्यवसाय सञ्चालन गरेको उनले जानकारी दिए । उद्योगले कुखुरा व्यवसायलाई व्यवसायीकरण मात्रै गरेको नभई रोजगारीसमेत सिर्जना गरेको छ । उनका उद्योगमा करिब २२ जनाले रोजगारी प्राप्त गरेका छन् ।
सञ्चालक पाण्डेले उद्योगलाई अझै अत्याधुनिक प्रविधिसँग जोडेर कुखुरा व्यवसायलाई व्यवसायीकरण गर्ने योजना रहेको बताए । २२ जना कामदार र आफूहरू बिहानै उठेर उक्त काममा लाग्ने गरेको उनको भनाइ छ । उनको उद्योगबाट हाल बोइलर कुखुराका अण्डा, चल्ला उत्पादन हुने गरेका छन् ।
व्यवसायमा बत्ती, बजारीकरण, बैकिंङ, र सडकको समस्या भएको उनको भनाइ छ । उनले कर्णालीमा नियमित बत्ती नहुँदा विगतमा दैनिक ५० हजारसम्मको डिजेल हालेर जेनरेटर चलाउनु परेको दुःखद अनुभव छ ।

साथै, भारत लगायत तेस्रो मूलकबाट कुखुराहरू नेपालमा ल्याउँदा नेपालमा उत्पादन भएका कुखुराहरूले बजार नपाउने गरेको सञ्चालक पाण्डेले बताए । ‘हाम्रोमा धेरे समस्या छ, बाटोको समस्या उस्तै छ, जाजरकोट लगेको कुखुराहरू बाटो बन्द हुँदा नेपालगञ्ज पु¥आउनु पर्छ, यसले गर्दा खर्च दोब्बर लाग्ने गरेको छ,’ उनले भने ‘नियमित बत्ती हुँदैन दैनिक ५० हजार माथिको डिजेल हाल्नु परेको छ ।’

उनले केही वर्ष पहिले कर्णाली प्रदेश सरकारबाट ५० लाख अनुदान पाए पनि पछिल्लो वर्षहरूमा भने कुनै पनि प्रकारको सहयोग नपाएको दुःखेसो गरे । ’काम नगर्नेले अनुदान लिएका छन्, गर्नेलाई राज्यले हेर्दैन,’ उनले भने। उनले आफ्नो व्यवसाय भने राम्रै गतिमा चलिरहेको बताए । उद्योग स्थापना गर्दा लिएको १३ करोड ऋणमध्ये अरू तिरिसकेकोले अहिले ६ करोड जति मात्रै बाँकी ऋण रहेको बताए। आफूले गरेको लगानीको प्रतिफल उठाउन अझै ५ वर्ष जति समय लाग्ने उनको भनाइ छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।