२०८३ वैशाख १२ , शनिबार

प्रहरीमा जागिर छाड्नेको लर्को : पाँच वर्षमा कर्णालीमा ३ सय ८९ जनाले दिए राजीनामा !



सुर्खेत । सरकारी जागिरमा एकपटक नाम निकालिसकेपछि हत्तपत्त छाड्ने गरेको पाइन्न, तर कुनै बेला जागिरको लागि राम्रो विकल्प मानिएको नेपाल प्रहरीमा भने त्यो लागू हुँदैन । प्रहरीमा राजीनामा दिएर जागिर छाड्नेको संख्या दिनानुदिन बढिरहेको छ । नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने हरेक वर्ष जागिर छाड्नेहरूको संख्या बढेको देखिन्छ । जसको प्रभाव कर्णाली प्रदेशमा पनि देखिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्याङ्गक अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्म ३ सय ८९ जनाले नेपाल प्रहरीको जागिरबाट राजीनामा बुझाएका छन् । ति मध्ये दर्जागत रूपमा धेरैजसो प्रहरी हवल्दार दर्जाका रहेका छन् । जसमा हवल्दार दर्जाका १ सय ५७ जनाले राजीनामा दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्गकमा उल्लेख गरिएको छ ।

प्रहरी सहायक निरीक्षक दर्जाका ८० जना, प्रहरी जवान दर्जाका ५९, प्रहरी नायव निरीक्षक दर्जाका ३२, प्रहरी वरिष्ठ हवल्दार दर्जाका २३, प्रहरी सहायक हवल्दार दर्जाका २०, प्रहरी कार्यालय सहयोगी दर्जाका ११ र वरिष्ठ नायव निरीक्षक दर्जाका ७ जनाले राजीनामा दिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक बिनोद शर्माले जानकारी दिए ।

किन दिन्छन् राजीनामा ?
प्रहरी उपरीक्षक बिनोद शर्माले अधिकांशले घरायसी समस्याले राजीनामा दिने गरेको बताए । ‘सबैले घरायसी समस्या भन्दै जागिर छोड्छन् ।’ उनले भने ‘अरु समस्या भएपनि घरायसी समस्या देखाउँदै राजीनामा दिएको देखिन्छ ।’ प्रहरीका अुनसार महँगी र कार्यबोझअनुसार सेवासुविधा नपाउनु, उमेर छँदै वैदेशिक रोजगारीमा राम्रो अवसर खोजेर जानु, संगठनभित्र राजनीतिक हस्तक्षेप बढ्नु र संगठनभन्दा बाहिर राम्रो अवसर पाउनुले पनि प्रहरीले राजीनामा बुझाउने गरेका छन् ।

प्रहरी उच्च स्रोतका अनुसार संगठनभित्र राजनीतिक हस्तक्षेप बढ्नुले पनि जागिर छोड्ने गरेको पनि पाइएको छ । ‘बाहिर नदेखिए पनि भित्री रुपमा राजनीतिक हस्तक्षेप हुँदा पनि राजीनामा बुझाउने गरेको छन् ।’ उनले भने । अपवादका रूपमा मात्रै सरुवा/बढुवामा चित्त नबुझेर प्रहरीले राजीनामा दिने गरेको प्रहरीले जनाएको छ ।

यस्तै पारिवारिक बोझका कारण बाहिरै राम्रो आम्दानी देखेपछि पनि प्रहरीले राजीनामा दिने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । तल्लो तहका प्रहरी कर्मचारीले आफ्नो ऊर्जाशील उमेर आम्दानीसँग जोडेर हेरेका कारण पनि राजीनामा दिने गरेको बुझाइ प्रहरीको छ । कतिपय अवस्थामा पटकपटक कारबाही परेर बढुवा हुने ढोका बन्द हुने देखेपछि पनि राजीनामा दिने गरेको प्रहरी उच्च स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रबार