
सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने कुरामा समस्या नभएको बताएका छन् । प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर भएको अवस्थालाई प्रष्ट पार्दै सरकारलाई आर्थिक व्यवभार नबढ्ने गरी प्रतिष्ठानका लागि पहल गरिने मन्त्री भण्डारीले बताए ।
अस्पतालको सेवा प्रवाहमा राम्रो देखिएपनि सेवाग्राहीको सन्तुष्टिमा भने कमजोर भएको बताए । सेवा प्रदायक निकायका व्यक्तिले सेवाग्राहीसँग गरिने बोलीचाली र व्यवहारमा सुधार गर्नुपर्ने सुझाव दिए ।सार्वजनिक सेवा र वस्तु प्रवाहमा कमजोरी नगर्न आग्रह गर्दै आफ्ना तर्फबाट गरिने सम्पूर्ण कामहरूको लागि पदमा हुँदा वा नहुँदा तयार हुने प्रतिवद्दता जनाए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले अस्पताल व्यवस्थापनका लागि विगतको तुलनामा चालू आर्थिक वर्षमा बजेट घटेको बारे जानकारी गराउँदै त्यसतर्फ मन्त्री भण्डारीको ध्यानाकर्षण गराए । यस्तै, अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले गरीब जनताको अवस्थालाई हेरेर त्यस अनुरूपको कार्ययोजना बनाउन आग्रह गरे।
स्वास्थ्य संरचनाका लागि सरकारका योजनाहरू प्राथमिकतामा नपरेको बताए । तीन सय बेड सञ्चालनमा रहेको प्रादेशिक ठूलो अस्पतालले थप नयाँ सुविधाको तयारी गरेको उनले जानकारी दिए। यसका लागि सरकारको सहयोगको अपेक्षा गरिएको बताए। अस्पताललाई प्रतिष्ठानका रूपमा लिन मन्त्री भण्डारी समक्ष अनुरोध गरे ।