
जुम्ला । जुम्ला कारागारमा कैदीबन्दीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ल प्रहरी कार्यालय जुम्लाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहयोगमा कारागारहरूमा रहेका कैदीबन्दीहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
कारागारका कैदीलाई स्वास्थ्य जाँच गराउन एकै पटक अस्पताल लिन नसकिने भएकाले सम्बन्धीत ठाउमै डाक्टर बोलाई स्वास्थ्य जाँच गरिएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले बताए । उनले भने, ‘कारागारहरूमा रहेका कैदीबन्दीहरूको स्वास्थ्यको अवस्था पत्ता लगाउन, कैदीबन्दीहरूको स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न, कैदीबन्दीहरू रहेकै स्थानबाट आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको हो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले शिविरबाट कैदीबन्दीकहरुको स्वास्थ्य समस्या पत्ता लाग्ने र उपचार गराउन सहज हुने बताए । उनले भने, ‘यदि कुनै जटिल प्रकारका रोगहरू समयमा नै पत्ता लागे अस्पताल र उपयुक्त विशिष्टिकृत अस्पतालमा प्रेषण गर्न सकिन्छ । त्यसैले कैदीबन्दीहरूको सामूहिक बसाइ, खानपान तथा जीवनशैलीलाई परिमार्जन गर्दे व्यक्तिगत सरसफाइ, खानपिन, जीवनशैलीमा सुधार ल्याउनसमेत यो शिविरले सहयोग पुग्ने छ ।’
जिल्ला समन्वय समितिका प्रमुख गौरनन्द आचार्यले कारागारभित्र कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य जाँचको बन्दोबस्त मिलाउनु राम्रो पक्ष भएको बताए । उनले कैदीहरूका लागि स्वास्थ्य ,मनोरञ्जनदेखि खेलकुदजस्ता गतिविधिसमेत आवश्यक रहेको बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर राकेश कुमार यादवका अनुसार कारागारमा रहेका १ सय २३ जना कैदीबन्दीको स्वास्थ्य जाँच गरिएको छ । उनीहरुमा ग्याष्टिक,मानसिक समस्या, श्वासप्रश्वास र एलर्जीको समस्या देखिएको छ । उनले परीक्षणको क्रममा कैदीबन्दीहरुमा खासै ठूलो समस्या भने नदेखिएको बताए ।