सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिका ५ र ६ को केन्द्र थालारैकरमा रहेको इन्द्र ज्योति माविमा विद्यालय व्यवस्थापन समिति गठनमा अन्यौलता देखिएको छ । विगत लामो समयदेखि विद्यालय समिति विहीन भएको छ । यसअघिका व्यवस्थापन समितिका अध्यक्ष बिनोद शाहीको गत फागुन १२ गते कार्यकाल सकिसकेको छ । उनको कार्यअवधि सकिएको ७ महिना बढी भइसक्दा पनि समिति गठनमा विद्यालयले चासो नदेखाएको अभिभावको गुनासो छ ।
विद्यालयका प्रधानध्यापक शर्मिला रावल शाही लगायत विद्यालय प्रशासनले समिति गठनमा चासो नदिँदा ७ महिनादेखि विद्यालय समिति विहीन भएको हो । विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि कुनै पनि अवस्थामा व्यवस्थापन समिति हुनुपर्ने शिक्षा ऐनको प्रावधानलाई बेवास्ता गरेर लामोसमयदेखि विद्यालय चलिरहँदा त्यसले गुणस्तरीय शिक्षण सिकाइ र वृत्तिविकासमा निकै समस्या भइरहेको सरोकारवालाले बताएका छन् । गत असार १५ गते अभिभावक भेलामार्फत समिति गठन गर्ने निर्णय गरिएको थियो ।
यद्यपि भेलामा अध्यक्षको आकांक्षामा धेरै भएकाले समिति गठन हुन सकेन । १५ गतेको भेलाले भदौको पहिलो साता समिति गठन गर्ने निर्णय गरेको थियो । भदौका १९ गते भइसक्दा पनि प्रशासनले कुनै चासो नदिँदा गठनमा ढिलाइ भएको अभिभावको भनाइ छ । विद्यालय प्रशासनले आफ्नो पायक पर्ने मान्छेलाई अध्यक्ष राख्ने योजना बनाएको हुँदा पनि समिति गठन हुन नसकेको विद्यालय कर्मचारीहरु नै बताउँछन् ।
विभिन्न बहाना देखाउँदै प्रशासन !
इन्द्र ज्योति माविमा व्यवस्थापन समितिको अध्यक्षमा धेरैले आकांक्षा देखाएको हुँदा गठनमा ढिलाई भएको जनाएको छ । विद्यालयका निमित्त प्रअ प्रेम शाहीले अध्यक्षको लागि धेरैले आकांक्षा देखाएको हुँदा विद्यालयमा समिति गठनमा ढिलाई भएको स्वीकार गरे । ‘२१ जनाभन्दा बढीले अध्यक्ष हुन्छु भन्दै दाबी गरेका छन् ।’ हामीले सर्वसहमति गर्ने गरी तयारीमा लागेका छौ ।’ उनले भने ‘केही ढिलाइ त भएको हो, अब छिट्टै गठन हुन्छ,’
यस्तै विद्यालयका लेखापाल शेरबहादुर शाहीले विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाई भएको सहजै स्वीकार गरे । उनले भदौँ २५ गतेसम्म समिति गठन गर्ने गरी तयारी थालेको जानकारी दिए । लेखापाल शाहीले विद्यालयमा पायक पर्ने मान्छे राख्ने कुरा गलत भएको बताए । आफुहरु प्रक्रियामा रहेकाले केही दिनमै समितिले पूर्णता पाउने उनको भनाइ छ । ‘विद्यालय व्यवस्थापन समिति प्रयोजनका लागि गत असारमा अभिभावक भेला आयोजना ग¥यौ, उनले भने, व्यवस्थापन समिति गठनमा सहमति जुटेन, अब छिट्टै गठन गर्छाै ।’
यस्तै वडा नम्बर–६ का वडाध्यक्ष धनबहादुर बुढाले व्यवस्थापन समितिको अध्यक्षमा धेरैको दाबी भएको हुँदा समिति गठनमा अन्यौता भएको बताए । उनले विद्यालयलाई राजनीतक नभई सबैको साझा थलोका रुपमा लाग्न आग्रह गरे । उनले समिति गठन सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरि चाँडै प्रक्रिया अगाडि बढाउने बताए ।
यस्तै शिवालय गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक ओमबहादुर नेपालीले आफुहरुले व्यवस्थापन समिति गठनको लागि बारम्बार ताकेता गरेपनि विद्यालय प्रशासनले अटेर गरेको बताए । उनले अबको केही दिनमा समिति गठन गर्ने प्रतिबद्धता जनाए ।
यी हुन् अध्यक्षका दाबेदार !
इन्द्र ज्योति माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा धेरैको आकांक्षा भएको हुँदासमिति गठनमा ढिलाई भएको विद्यालय प्रशासनले जनाएको छ । अध्यक्ष पदका करिब १८ जनाभन्दा बढीले दाबी गरेको छन् उनीहरुमा पनि यसअघि नै अध्यक्ष भइसकेकाले समेत दाबी गरेको हुँदा सर्वसहमति हुन कठिन देखिएको छ ।
विनोद शाही, पर्शुराम शर्मा, शेरबहादुर खत्री यसअघि नै अध्यक्ष भइसकेका हुन्। उनीहरुले पुनः आफुहरु अध्यक्ष हुने दाबी गरको छन् । यस्तै अध्यक्षकै लागि कृष्णबहादुर शाही, भिम बहादुर शाही, सिर्जना रेग्मी शाही, लालबहादुर शाही लगायतकाले अध्यक्षमा आकांक्षा देखाएका छन् ।
अध्यक्ष हुनकै लागि छोरीलाई इन्द्र ज्योतिमा भर्ना
अध्यक्ष पदका दाबेदार कृष्ण शाहीले आफ्नो छोरीलाई कोहलपुरदेखि ल्याएर इन्द्र ज्योतिमा भर्ना गराएका छन् । कक्षा १–१० सम्म कोहलपुरमा अध्ययन गराएका उनले यसपटक आफु अध्यक्ष हुनका लागि छोरीलाई इन्द्र ज्योतिमा भर्ना गराएको धेरैको बुझाइ छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनका लागि विद्यालयको अभिभावक हुनुपर्ने कानुनी प्रवाधान छ ।
सोही अनुसार उनले विद्यालयमा आफ्नो छोरीलाई भर्ना गराएको स्थानीयको भनाइ छ । यता, कृष्ण शाहीले आफुमाथि स्थानीयले लगाएको आरोप सबै गलत भएको बताए । उनले छोरीलाई आफ्नो इच्छाले इन्द्र ज्योतिमा भर्ना गराएको बताए ।