२०८३ वैशाख ११ , शुक्रबार

कर्णालीको दीक्षान्तमा ओली नगएपछि ज्ञानेन्द्र शाहीको आक्रोश– भएको खर्च ओलीको सम्पत्तिबाट असुल्नपर्छ



सुर्खेत । ​​राप्रपा संसदीय दलको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्रममा नगएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आपत्ति जनाएका छन् । सम्पूर्ण तयारी पछि ओलीले हुकुमी शैलीमा आफू नआउने जानकारी गराएको उनले बताए । सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद शाहीले तयारी पूरा भएपछि ओली नआएकाले भएको खर्च ओलीको व्यक्तिगत सम्पत्तिबाट असुल्नुपर्ने बताएका हुन् ।

‘देशको प्रधानमन्त्री बराबर झुट बोल्ने मान्छे कोही छैन होला । कर्णाली शिक्षा विज्ञान प्रतिष्ठानको दीक्षान्तमा सहभागी हुन झापादेखी कञ्चनपुरका ५६ जना जुम्ला गए । डा. सन्दुक रुइतदेखि हामी पुग्यौं । तर लास्टमा म आउँदिन भनेर भन्दिनु भयो । हुकुमी शासन हो रु भएको खर्च व्यक्तिगत सम्पत्तिबाट असुल गर्नुपर्छ,’ शाहीले भने ‘प्रधानमन्त्री बिरामी भएको भए, मौसम खराबी भएको भए स्वीकार्थ्यौं होला । भ्यूटावर भएको भए दौडेर जानु हुन्थ्यो ।’

भदौ २३ गते आइतबारको लागि तय गरिएको दीक्षान्त प्रधानमन्त्री एवं कुलपति अनुपस्थित भएपछि स्थगित भएको थियो । सांसद शाहीले जुम्लाको स्याउ बजार लैजान १७ ठाउँमा चेकिङ गरेर किसानलाई हैरानी दिएको आरोप लगाए ।

प्रकाशित मिति : २०८१ भदौ २४ गते सोमबार