
प्रकाश शाही, सुर्खेत
सुर्खेतको गुर्भाकोट नगरपालिकामा लामो समयदेखि सडक कालोपत्रेमा ढिलाइ भएको छ । गुर्भाकोट नगरपालिका–१,५ र ६ जोड्ने काल्चे घारीवन छिन्चु सडक निर्माणमा ठेकेदारको लापरबाहीले निकै ढिलाइ देखिएको हो । सडक डिभिजन कार्यालय सुर्खेतले २०७९ वैशाख २ गते कन्काई गणपति जेभी काठमाडौँसँग २०८१ असोज ३० गते कालोपत्रे गरेर सक्ने गरी सम्झौता भएको गरेको थियो ।
सम्झौतामा दुई वर्षभित्रै काम सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो । तर सम्झौता भएको दुई वर्ष बढी भइसक्दा पनि हालसम्म करिब ७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । १० मिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिए पनि सो सडक अहिले लथालिङ्ग छ । ठेकेदारले हालसम्म १ मिटर पनि सडक कालोपत्रे गर्न नसकेको स्थानीयको भनाइ छ । सङ्घीय सरकारले उक्त सडक कालोपत्रे गर्नै भन्दै करिब २० करोड ९० लाख ४५ हजार ६ सय २८ रुपैयाँ विनियोजन गरेको थियो ।
सोही अनुसार निर्माण व्यवसायीले दुई वर्षमा सक्ने भन्दै सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगर्दा त्यहाँका नागरिकलाई निकै सास्ती भएको छ । निर्माण व्यवसायीले सडक कालोपत्रेमा तदारुकता नदेखाउँदा काममा निकै ढिला भएको सडक डिभिजन कार्यालय सुर्खेतका सब इन्जिनियर दिपराज रावतले गुनासो गरे । आफूहरूले बारम्बार निर्माण व्यवसायीलाई समयमै काम सक्न आग्रह गर्दा पनि विभिन्न बहाना बनाएर काम नगरेको इन्जिनियर रावतको भनाइ छ ।
इन्जिनियर रावतले सडक कालोपत्रेको भौतिक प्रगति ७ दशमलव ६ प्रतिशत मात्रै देखिएको बताए । निर्माण कम्पनीको लापरबाहीले यहाँका स्थानीय बषौँदेखि धुलो र हिलो झेल्न बाध्य भएका छन् । सम्बन्धित निकायले समयमा पूरा गर्नेतर्फ चासो दिएका छैनन् । दुई वर्ष पहिले ठेक्का लागेको सडक अहिले पनि उस्तै अवस्थामा भएको गुर्भाकोट नगरपालिका–१ का वडाध्यक्ष रामबहादुर शाहीले बताए । ‘लामो समय भइसक्यो काम थालेको तर ठेकेदारको लापरबाहीले गर्दा सडक अलपत्र परेको छ ।’ उनले भने, ‘बर्खामा हिँड्नै मिल्ने अवस्था छैन सडक कालोपत्रे भएको भए कति सजिलो हुने थियो ।’ उनले सडक कालोपत्रेमा ठेकेदारकै लापरबाही देखिएको दाबी गरे ।
‘बेला बेलामा काम गरेको जस्तो गर्ने, तर पनि समयमै काम सम्पन्न नगर्ने । यो सडक १,५ र ६ नम्बर वडालाई जोड्छ । अहिले यो सडक कालोपत्रे नहुँदा यहाँका स्थानीयलाई निकै सास्ती भएको छ ।’ उनले भने । वडाध्यक्ष शाहीले काम सुरु भएको दुई वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले यहाँ स्थानीयहरूलाई निकै सास्ती हुने गरेको गुनासो गरे ।
कालोपत्रे गर्न ग्राभेल थुपारेको बर्षौ भयो, तर पनि काम त्यति प्रभावकारी रूपमा भएको छैन, उनले भने ।’ यस्तै वडा नम्बर १३ का वडाध्यक्ष एवम् पालिका प्रवक्ता मधु गुरुङले ठेकेदारले आफ्नै मनपरीमा काम गर्दा उक्त सडक अलपत्र परेको बताए । ठेकेदारले समयमै काम सम्पन्न गर्ने गरी काम नगर्दा सडक निर्माणमा निकै ढिलाइ भएको बताए ।
स्थानीयवासी र वडाध्यक्षहरूले ठेकेदारलाई बारम्बार दबाब दिँदा पनि काममा ढिलासुस्ती भइरहेकोमा चासो व्यक्त गरेका छन् । इन्जिनियर रावतका अनुसार ठेकेदारले १ करोड २९ लाख ९४ हजार ७ सय ३७ रुपैयाँ भुक्तानी पाइसकेका छन् । यस विषयमा ठेकदार तुलसीराम भण्डारीलाई सम्पर्क गर्दा उनले फोन उठाएन । यता, नगरपालिकाले उक्त निर्माण व्यवसायीसँगको सम्झौता रद्द गर्नका लागि डिभिजन कार्यालयलाई पत्र समेत पठाइसकेको छ ।यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।