२०८३ वैशाख १६ , बुधबार

संविधान दिवसले तीनै तहका सरकारलाई थप जिम्मेवार बन्न प्रेरित गर्नेछ : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको सफल कार्यान्वयनलाई राष्ट्रिय एकताको लागि अत्यावश्यक रहेको बताएका छन् । संविधान दिवसको अवसरमा उनले नेपाली जनताको सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानको स्मरण गर्दै संविधानको महत्वको सम्मान गर्न आवश्यक रहेको बताएका हुन् ।

कँडेलले शुभकामना सन्देशमा ज्ञात र अज्ञात सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै राजनीतिक परिवर्तनका लागि संघर्ष गरेका अग्रजहरूको योगदानको प्रशंसा गरेका छन् । उनले संविधानलाई कानूनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेजको रूपमा प्रस्तुत गर्दै यसमा लिपिबद्ध नागरिक अधिकारको कार्यान्वयनमा तत्परता आवश्यक रहेको बताए ।

“संविधान निर्माणपछि अब मुलुकलाई सामाजिक न्याय र आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउन प्रमुख कार्यभार हो,” कँडेलले भने । उनले तीन तहका सरकारबीच समन्वयलाई पनि प्रमुख आवश्यकताको रूपमा रहेको बताए । कँडेलले संविधान दिवसले तीनै तहका सरकारलाई नागरिक अधिकारप्रति थप जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास आफुले लिएको शुभकाममना सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार