
शर्मिला रावल (शाही)
कुलेन्द्र शाही, सुर्खेत । नेतृत्वमा महिलाले अवसर पाएको ठाउँमा सकारात्मक परिवर्तन भएका उदाहरण प्रशस्तै भेटिन्छन् । यस्तै एक उदाहरण बनेको छ – जाजरकोटको शिवालय गाउँपालिका–६ थालारैकरको इन्द्र ज्योति माध्यामिक विद्यालय । २०१२ सालमा स्थापित इन्द्र ज्योतिले ७० वर्षको लामो इतिहासमा पहिलो पटक महिला प्रधानाध्यापक पाएको छ ।
महिला प्रअ हुनुअघि त्यहाँका स्थानीयहरू आफ्ना सन्तानको भविष्य राम्रो नरहेको भनेर विद्यालयको आलोचनाहरू गर्थे । स्कुलमा न उचित कक्षा, न कोठा थिए, न भवन । पैसा हुनेले आफ्नो छोराछोरीहरूलाई पढाउन सुर्खेत, नेपालगञ्ज, कोहलपुर, काठमाडौंलगायत विभिन्न ठाउँमा पठाउँथे ।
आर्थिक हैसियत कमजोर भएकाहरू मात्रै इन्द्रज्योतिमा पठाउँथे । शिक्षकहरूको नियमित उपस्थिति नहुँदा विद्यालयको स्तर समेत खस्किएको थियो । विद्यालयका शिक्षकहरू नियमित विद्यालयमा उपस्थित नहुने, उपस्थित भएपनि नियमित नपढाउने प्रबृत्ति थियो । पढ्नलाई विद्यालय आएका विद्यार्थीहरू कोही घाम ताप्दै बस्थे, कोही एक आपसमा गफ गर्दै बस्थे त कोही विद्यालय नजिकैका पसलहरूमा हुन्थे ।
तर, जब इन्द्रज्योति माविले २०८० फागुन २८ गते महिला प्रअ पायो, तब विद्यालयमा सकारात्मक सुधार आउन थाले । पहिलो पटक महिला प्रअ शर्मिला रावल (शाही) नियुक्त भएपछि विद्यालयले मुहार फेरिएको विद्यार्थी तथा कर्मचारीको भनाइ छ । (शाही) को नियुक्तिले विद्यालयको शैक्षिक र भौतिक अवस्थालाई परिवर्तन गर्न सफल भएको विद्यालयका शिक्षक शान्त बहादुर बुढाले बताए ।
रावलको नेतृत्वमा विद्यालयले नयाँ दिशा पाएको उनको भनाइ छ । विद्यालयमा हालै दुई वटा नयाँ भवन र अन्य सुविधाजनक संरचनाहरू जस्तै, खेल मैदान, पुस्तकालय र शौचालय निर्माण भएका छन् । विद्यालयमा अहिले दुई सय ५० भन्दा बढी विद्यार्थी खुसीसाथ अध्ययनरत छन् ।
शर्मिला रावलले विद्यालयलाई राजनीतिक थलोको सट्टा शिक्षाको पिठाका रूपमा पुनस्र्थापित गरेकी छन् । उनले विद्यालय सञ्चालनमा आमूल परिवर्तन ल्याउने लक्ष्यका साथ काम गर्न थालेकी छिन् । अभिभावक र शिक्षकबीच नियमित छलफलका लागि मासिक बैठकहरू आयोजना गरिएका छन् । रावलले सबैलाई मिलाएर काम गर्नुपर्ने आवश्यकता र पारदर्शिताको महत्वलाई औंल्याउँदै शिक्षकीय नेतृत्वलाई सशक्त बनाएकी छन् ।
उनको आत्मविश्वास र प्रतिबद्धताले विद्यालयको स्थिति सुधार्नमा महत्वपूर्ण भूमिका खेलेको अभिभावकको भनाइ छ । उनी भन्छिन्, ‘विद्यालयलाई परिवर्तन गर्न सक्षम हुनुपर्छ । यो केवल सरकारी जागिर होइन, समुदायको लागि एक जिम्मेवारी हो ।’ महिलाले नेतृत्व लिएपछि विद्यालयको काँचुली फेरिएको र भौतिक तथा शैक्षिक सुधारमा केही उल्लेखनीय देखिएको छ ।
विद्यालयमा सुधार आएपछि वद्यार्थीको संख्या पनि बढिरहेको छ । पहिले विद्यालयलाई राजनीतिक थलो बनेको हुँदा विद्यालय निकैपछि परेको थियो । तर शर्मिला प्रअ भइसकेपछि उनले राजनीतिक थलो होइन शिक्षाको पिठाका रूपमा लिएकी छिन् । विद्यालयमा यसले विद्यार्थी आकर्षण बढाएको हो ।
स्कुलभित्रै खानेपानी, छात्रा र छात्रको छुट्टाछुट्टै शौचालय, पुस्तकालय, व्यवस्थित विज्ञान ल्याब, कम्प्युटर ल्याब र अतिरिक्त क्रियाकलापले विद्यार्थी र अभिभावकको चाहना नै इन्द्रज्योति मावि बनेकोमा उनी गर्व गर्छिन् । अविभावकहरू पनि खुसी छन् । ‘महिला प्रअले नानी बाबुहरूलाई आफ्ना छोराछोरीसरह गरी समय दिन्छन्, संवेदनशील भएर सबै पक्षको ख्याल राख्छिन्’ विद्यालयका अभिभावक सुरेन्द्र खत्रीले भने, ‘त्यही भएर इन्द्र ज्योति मावि राम्ररी चलिरहेको छ ।’
इमानदार हेडसर भए जुनसुकै स्कुल राम्रो हुन सक्ने उदाहरण इन्द्र ज्योति माविले देखाएको अर्का अभिभावक प्रेम नेपालीले बताए । हाल दुई सय बढी विद्यार्थी इन्द्र ज्योति माविमा अध्ययनरत हुनु रावलको मुख्य योगदान रहेको उनले बताए ।
तीन मन्त्र, जसले विद्यालय नमुना बन्दै
कठिन परिस्थितिकाबीच प्रधानाध्यापक रावलले विद्यालय सुधारका लागि तीन मन्त्र बुनिन् । पहिलो विद्यालयलाई पारदर्शी बनाउने दोस्रो सहकार्यमा काम गर्ने र तेस्रो कामको विभाजन गर्ने सूत्र बनाइन् उनले । ‘एक्लैले काम गर्न सकिँदैन, टिमवर्कमा गर्ने हो । कामको विभाजन गरी शिक्षकलाई जिम्मेवारी दिँदा विद्यालयमा सुधार आयो,’ उनी भन्छिन्, ‘यसले विद्यालय मेरो हो भन्ने भावना शिक्षकमा जाग्यो ।’ विद्यालयमा बालबालिका र अभिभावक पनि महिला प्रधानाध्यापक भएकोमा खुसी भएका छन् ।
उक्त विद्यालयमा अध्ययनरत छात्रा सुनिता शाहीले शर्मिला म्याम प्रअ भएपछि विद्यार्थीहरूलाई पढ्न, नजानेको कुरा सोध्न निकै सहज भएको बताइन्। उनले इन्द्र ज्योति मावि पनि सहरको निजी विद्यालय जस्तै अब्बल भएको बताइन् । उनले विद्यालयको संरचना देख्दा धेरैलाई निजी विद्यालयजस्तो लाग्ने गरेको बताइन् । प्रअ रावलले आफू बिहानदेखि बेलुकासम्म विद्यालयमै व्यस्त हुने गरेको बताइन् ।’ अधिकांश समय उनी विद्यालयलाई नै दिन्छु ।
उनले भनिन्, ’मन्त्रालय चलाउन सजिलो होला विद्यालय चलाउन धेरै गाह्रो छ । अहोरात्र खटियो भने मात्र राम्रो हुन्छ । त्यति मात्रै भएर पनि हुँदैन यसमा सबैको साथ चाहिन्छ । उनले महिलाले गर्न सक्दैनन्, नेतृत्वमा जान हुँदैन भन्ने मानसिकतालाई चिरेकी छिन् । उनी अध्यापनलाई सरकारी जागिरको रूपमा नलिई काम गर्छिन् ।
‘यो सरकारी जागिर होइन । समुदायका धेरै मानिसले हेरिरहेको हुन्छ । घरपरिवारलाई जस्तै समय दिनुपर्छ । म विद्यालयलाई केही परिवर्तन गर्न सक्छु भन्ने हुनुपर्छ । सबैलाई मिलाएर लैजान सक्ने क्षमता हुनुपर्छ,’ उनी भन्छिन्, ‘हरहिसाबमा पारदर्शी हुनुपर्छ । स्कुललाई कस्तो बनाउने भन्ने भिजन हुनुपर्छ ।’ उनी आफू प्रअ भइसकेपछि विद्यालयमा भौतिकसँगै शैक्षिक गुणस्तरमा केही भूमिका खेलेको दाबी गर्छिन् ।
विव्यस अध्यक्ष पनि महिला
इन्द्र ज्योति माविको प्रअ मात्रै महिला होइन विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनि महिला नै चयन भएकी छिन् । गत भदौ २८ गते विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सिर्जना रेग्मी (शाही) सर्वसम्मत चयन भएकी हुन् ।
विद्यालयको सुधार र नमुना विद्यालयको घोषणा गर्ने उनको योजना छ अध्यक्ष शाहीले पनि आफ्नो तीन वर्षे कार्यकालमा विद्यालयलाई नमुना विद्यालय घोषणा गरेकी छिन् । उनले आफू अध्यक्ष भएपछि विद्यालयमा देखिएका समस्याहरू समाधान गर्न निरन्तर लागिरहने प्रतिबद्धता जनाएकी छिन् ।