सुर्खेत । कर्णाली प्रदेश सभा बैठक आज दिउँसो बस्दै छ । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख यज्ञराज जोशीले दोस्रो कार्यकालको पाँचौँ अधिवेशन सोमबार दिउँसो १ बजेका लागि आह्वान गरेका छन् । आजदेखि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठक उपसभामुख यशोदा न्यौपानेले सञ्चालन गर्ने भएकी छन् । कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङकी सासुआमा मनिकला गुरुङको शनिबार निधन भएपछि आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको हिउँदे अधिवेशनको बैठक शुरू गर्ने जिम्मा उपसभामुखले पाएकी हुन् ।
कर्णाली प्रदेशसभा नियमावली २०८१ संशोधन गरिएपछि उपसभामुख न्यौपानेले बैठक शुरू गर्ने अवसर पाउने भएकी हुन् । यसअघिको नियमावलीमा भने बैठकको शुरू र स्थगन गर्ने अधिकार सभामुखमै निहित थियो ।
पछिल्लो संशोधित नियमावलीको परिच्छेद तीनको बैठकको सञ्चालन र स्थगन अन्तर्गतको धारा ४ मा सभामुखले उपसामुखलाई लिखित निर्देशन दिएमा वा सभामुख काबु बाहिरको परिस्थितिपरी बैठकमा उपस्थित हुन नसकेमा उपसभामुखले बैठकको प्रारम्भ तथा स्थगन वा सभामुखले प्रारम्भ गरेको बैठकको स्थगनको घोषणा गर्ने कुरा उल्लेख थियो । यसै धारामा टेकेर आजको कर्णाली प्रदेश सभाको बैठक उपसभामुख न्यौपानेले सञ्चालन गर्ने भएकी हुन् ।