सुर्खेत । लोकसेवा आयोगमा नाम निकालेको भन्दै सिम्तामा नक्कली सिफारिस लिएर जाँदा एक किशोरी पक्राउ परेकी छिन् । लोकसेवा आयोगमा नाम निकालेको र आयोगले नै सिम्तामा आफुलाई सिफारिस गरेको भन्दै नक्कली सिफारिस लिएर गएकी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ की अन्दाजी वर्ष २० कि रेनुका बुढा मगर रहेको प्रहरी स्रोतले बताएको छ । उनलाई सोमवार सिम्ता गाउँपालिकाबाट पक्राउ गरिएको र अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको स्रोतको भनाइ छ । ‘लोकसेवा आयोगमा नाम निकालेर म घोडाघोडीमा काम गरे । पछि फेरि आयोगको कार्यालयले सिम्तामा सिफारिस ग¥यो, म त्यही भएर यहाँ आएकी हुँ,’उनको भनाईलाई उद्दृत गर्दै प्रहरी स्रोतले खबरदृष्टिसँग भन्यो ।
रेनुकालाई लोकसेवा आयोगले नभई नक्कली (अरु कसैले) सिफारिस बनाएर सिम्ता पठाएको हुनसक्ने प्रहरीको आशंका छ । सिम्ताका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले लोकसेवाको कार्यालयमा सम्पर्क गर्दा रेनुका नाम गरेका कोही कसैलाई पनि कार्यालयले सिफारिस नगरेपछि वास्तविकता सतहमा आएकाे थियाे।
उनको सिफारिसमा रेनुका नाम भएपनि वास्तविक नाम भने उनले आफै चाँदनी बुढा मगर बताएकी थिईन। ‘हामीले नाम सोध्यौँ, उहाँले मेरो नाम चाँदनी हो नागरीकतामा चाँदनी छ। तर, नागरीकता यतै आउने बेलामा गाडीमा छुटेको छ,’ पालिका एक कर्मचारीले भने। उनले लिएको सिफारिस लाई पनि उपलब्ध भएको छ ।
उनले लिएको सिफारिसमा लोकसेवा आयोग कार्यालय सुर्खेतका उपसचिव पुर्णमान श्रेष्ठ, केन्द्रीय प्रतिनिधि कृष्ण बस्याल र शाखा अधिकृत सरस्वती सापकोटाको हस्ताक्षर देखिएको छ । साथै सिफारिसमा उनको आमाको नाम कोपिला उल्लेख गरिएको छ । यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले यस विषयमा आफुलाई आधिकारीक जानकारी नभएको र नक्कली सिफारिस लिएर पालिकामा गएको हुनसक्ने आशंका गरेको बताए ।
‘मलाई पनि यो बारेमा त्यति जानकारी छैन्। तर, उनलाई छिन्चुमा ल्याएर राखिएको छ भन्ने खबर पाएको छु,’ एसपी खड्काले भने, ‘मैले सुनेको नक्कली सिफारिस लिएर उनी सिम्तामा गएको हुन रे ! अब आधिकारिक के हो हामी बुझ्दै छौँ बुझेपछि भनौला ।’