२०८३ वैशाख ८ , मंगलबार

सुर्खेत विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग



सुर्खेत विमानस्थलको धावन मार्ग र आसपासको क्षेत्र । तस्बिर : सुरेश आचार्य/रासस

प्रकाश शाही, सुर्खेत । कर्णाली प्रदेशका दुई प्रमुख विमानस्थलको स्तरोन्नति र विस्तारका लागि सरकार अघि बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुर्खेत, जुम्ला र दाङको टरीगाँउ विमानस्थलहरूको स्तरोन्नति र विस्तारका लागि स्रोत सुनिश्चित गरिदिन अर्थ मन्त्रालयसँग अनुरोध गरेको छ ।

नागरिक उड्डयन मन्त्रालयका अनुसार विमानस्थल स्तरोन्नतिका लागि कुल १६ अर्ब रुपैयाँको आवश्यकता पर्ने देखिएको छ । यसमा जुम्ला विमानस्थलका लागि १ अर्ब, दाङ टरीगाँउ विमानस्थलका जग्गा अधिग्रहण कार्यका लागि ५ अर्ब र सुर्खेत विमानस्थलका जग्गा अधिग्रहण कार्यका लागि १० अर्ब रुपैयाँको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ ।

यस्तै, जुम्ला विमानस्थलका लागि ४० करोड, दाङ टरीगाँउ विमानस्थलका लागि ९९ करोड र सुुर्खेत विमानस्थलका लागि ४ अर्ब ९० करोड गरी जम्मा ६ अर्ब २९ करोड रुपैयाँ तत्काल स्रोत सुनिश्चिताका लागि अर्थमन्त्रालयसँग माग गरिएको छ । यो कदमले हवाई सेवा सुधार र क्षेत्रीय हवाई कनेक्टिभिटी विस्तारमा सरकारको प्राथमिकतासँग मेल खाने विश्वास गरिएको छ ।

सुर्खेत विमानस्थललाई क्षेत्रीयस्तरको हवाई केन्द्रका रूपमा विकास गर्ने सरकारको योजना रहेको छ । स्थानीय सरोकारवालाहरूले विमानस्थल स्तरोन्नतिले कर्णाली प्रदेशको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । कर्णाली प्रदेशमा यातायातको सीमित पहुँच भएका कारण हवाई सेवा सुधारले पर्यटन, व्यापार र स्थानीयवासीहरूको आवागमनलाई सहज बनाउन मद्दत पुर्याउने कर्णालीवासीको अपेक्षा छ ।

सरकारको यो निर्णयले कर्णाली प्रदेशको विकास र समृद्धिमा ठूलो योगदान पुर्याउने सुर्खेत चेम्बर अफ कमर्सले विश्वास व्यक्त गरेको छ । अर्थमन्त्रालयबाट स्रोत सुनिश्चित भएपछि विमानस्थलहरूको विस्तार र स्तरोन्नति कार्यले गति लिनेछ । केन्द्रीय सरकारसंग निरन्तर पहल र खबर्दारी गरेका मुख्यमन्त्री यामलाल कँडेलले विमानस्थल कर्णाली प्रदेशको समृद्विसंग जोडिएकोले यस विषयलाई सबैको साझा र सकारात्मक प्रयत्नबाट नजितामुखी बनाउन आ-आफ्नो ठाँउबाट पहल गर्नुपर्ने बताएका छन् ।

सुर्खेत विमानस्थल विस्तार धेरै अघिदेखिको योजना हो । कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीयहरुले अबरोध गरेको कारण देखाउँदै आफ्नो कार्यकालमा एयरपोर्ट विस्तारको सम्पूर्ण प्रकृया स्थगित गरिदिएका थिए ।

विवाद र विभिन्न अबरोधहरुपछि नागरिक उड्डयन मन्त्रालयलाई विमानस्थल विस्तारको निर्णय गराउन प्रतिनिधि सभा सदस्य हृदयराम थानीले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । लामोसमयदेखिको खबरदारी र बहसपछि वीरेन्द्रनगरमा रहेको विमानस्थलको रनवे बिस्तार हुने निश्चित भएको छ ।

प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार