२०८३ वैशाख ८ , मंगलबार

बालीमा प्रयोग गरिने विषादीबाट दोहोरो जोखिममा किसान

विषादीमुक्त बनाउन सप्ताहको तयारीमा सरकार


कुलेन्द्र शाही, सुर्खेत । बालीनालीमा शत्रुजीव व्यवस्थापन गर्न प्रयोग गरिने विषादीहरूको अत्यधिक प्रयोग र दुरुपयोगबाट सबैभन्दा बढी जोखिममा किसान (प्रयोगकर्ता) हुने बताइएको छ । सोमवार वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकार भूमि कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत एकीकृत कृषि प्रयोगशालाले आयोजना गरेको एकदिने रासायनिक विषादी न्यूनीकरण सम्बन्धी सचेतनामूलक गोष्ठीमा किसानहरूले अत्यधिक रासायनिक विषादीको प्रयोग गरेको भन्दै विषादीको प्रत्यक्ष रूपमा दोहोरो जोखिममा रहेको बताएका थिए ।

सहभागीहरूले सरकारले विषादीयुक्त बनाउन खाका निर्माण गरेर अगाडि बढ्नुपर्ने सुझाव दिए । किसान चित्रबहादुर बुढाले विषादीमुक्त बनाउन आफैदेखि सुरु गर्नुपर्ने बताए । यस्तै अर्का सल्यान कपुरकोटका किसान टेकबहादुर पुनले बालबालिकालाई सानैदेखि विषादीको असरबारे सचेत गराउँदै अग्र्यानिक खेतीतर्फ अभिप्रेरित गर्न सकिएमा भविष्यमा विषादी प्रयोग न्यूनीकरण हुने बताए ।

यस्तै कर्णाली प्रदेश बीउ बिजन सङ्घका अध्यक्ष याम शर्माले प्रदेशमा हाल प्रयोग भइरहेका ८० प्रतिशतभन्दा बढी बीउहरू विदेशबाट आयात हुने जानकारी गराउँदै बीउ उत्पादनमा आत्मनिर्भर बन्न सकेमा मात्र अग्र्यानिक उत्पादनको दिशामा अघि बढ्न सकिने दाबी गरे । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि विज्ञ वेदप्रसाद चौलागाईंले बालीनालीमा प्रयोग गरिने रासायनिक विषादीबाट प्रत्यक्ष रूपमा धेरैजसो किसान नै हुने गरेको हुँदा उनीहरू विषादीको जानी नजानी दोहोरो जोखिममा परेको बताए ।

‘बालीनाली उत्पादन गर्दा बिना तयारी रासायनिक विषादी प्रयोग गर्ने र उत्पादन भएको वस्तु उपभोग गर्ने पनि किसान हुने हुँदा उनीहरू दोहोरो जोखिममा देखिएका छन् ।,’ उनले भने, ‘रासायनिक विषादीको अत्यधिक प्रयोग र दुरुपयोगबाट किसान तथा उपभोक्तालाई सचेतना गराई यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकेमा सरकारलाई नै फाइदा हुन्छ ।,’

कृषि विज्ञ चौलागाईंले कर्णाली प्रदेश प्राङ्गारिक प्रदेश घोषणा भइसकेपछि किसानहरूले विषादी पाउन गाह्रो भएको गुनासो आउने गरेको बताए । उनले कृषि कार्यालयमा विषादी लिन जाँदा कर्मचारीहरूले हामी प्राङ्गारिक प्रदेश हौँ, यहाँ विषादी छैन भन्ने प्रतिक्रिया दिने गरेका गुनासो गरे । एक पटकमा विषादी हटाउन सम्भव नरहेको भन्दै क्रमिक रूपमा यसको प्रयोग न्यूनीकरण गर्दै जानुपर्नेमा उनको जोड छ ।

विषादीमुक्त बनाउन सप्ताहको तयारी
कर्णाली सरकारले आगामी चैत ३ गतेदेखि ९ गतेसम्म विषादी प्रयोग मुक्त सप्ताहको तयारी गरेको छ । तर बजेट अभावका कारण जिल्लास्तरमा प्राङ्गारिक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्रबहादुर रोकायले बताए ।

उनले हाल सुर्खेतको सिम्ता र चिङ्गाड गाउँपालिका एवम् भेरीगंगा नगरपालिकालाई प्राङ्गारिक पालिका घोषणा गरिएको उल्लेख गर्दै प्रदेशभर यस्ता कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । प्रमुख रोकायले प्रदेश सरकारले आगामी दिनमा प्राङ्गारिक पाठशाला सञ्चालनमा विशेष ध्यान दिन आग्रह गर्दे विषादी प्रयोग मुक्त अभियान सफल बनाउन सबै तहको सहकार्य आवश्यक रहेको बताए ।

किसानमा विषादी सम्बन्धी ज्ञान अभाव
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्रबहादुर रोकायले विषादीको सुरक्षित प्रयोग सम्बन्धी ज्ञान नहुनु, जानकार किसान पनि लापरबाही हुनु, वैकल्पिक विधिका बारेमा ज्ञान नहुनु, भारतीय विषादी र बीउ बिजनको बढी विश्वास गर्नुले प्रयोगकर्ता विषाक्त हुँदै गएको बताए ।

उनले सबै विषादीलाई कक्टेलका रूपमा प्रयोग गर्नु, पर्खनुपर्ने अवधिबारे प्रायः किसानलाई जानकारी नहुनु, रासायनिक विषादीको विकल्प सहज रूपमा उपलब्ध नहुनु लगायतका कारणबाट पनि किसान दोहोरो जोखिम अर्थात् प्रयोगकर्ता विषाक्त हुँदै गएको बताए । उनले किसान, उपभोक्ता, विद्यार्थी र कृषि व्यवसायीहरूलाई विषादीको असरबारे सचेत गराउने, अग्र्यानिक खेतीलाई प्रवद्र्धन गर्ने तथा वैकल्पिक मल प्रयोगबारे प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाए ।

विषादी प्रयोग गर्दा ध्यान दिनुपर्ने विकल्पहरू
विषादीको अवशेष बढी भएको खानेकुरा खानाले मानिस र पशुको स्वास्थ्यलाई अल्पकालीन र दीर्घकालीन असर देखिन जाने साथै वातावरणमा पनि नकारात्मक असर पार्ने हुनाले किसानले विभिन्न उपायहरू अपनाउन सक्नेछन् ।

विज्ञका अनुसार किसानले स्थानीयको प्रविधिको प्रयोग, बाली चक्र र कृषि कर्ममा सुधार, जैविक तथा वानस्पतिक विषादीको प्रयोग, आकर्षक पासोहरू, मित्र जीवको संरक्षण, कम्पोस्ट, हरियो, गोबर मलको प्रयोग र असल कृषि अभ्यास लगायतका विकल्पहरू अपनाउँदा कृषिमा दिगो प्रभाव पर्ने देखिन्छ ।

प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार