२०८३ वैशाख ८ , मंगलबार

मानवीय संसाधन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम



सुर्खेत । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा मानवीय संसाधन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएन युमनको प्राविधिक सहयोग र सुन्दर नेपाल संस्थाको स्थानीय सहजीकरणमा ‘सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी सुपर दुई परियोजना’ अन्तर्गत मानवीय संसाधन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन सचिव उत्तम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कानुन सचिव वीरेन्द्र बुढा रहेका थिए । कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको वर्तमान अवस्था, पहल र सुधारको आवश्यकतासम्बन्धी प्रस्तुतीकरण गरिएको थियो ।

डिपिनेटका कोषाध्यक्ष केशव दत्त भट्टले विपद् व्यवस्थापनका क्षेत्रगत अवधारणाहरू, राहत र प्रतिकार्य कार्यक्रमको ढाँचाबारे जानकारी दिएको सुन्दर नेपाल संस्थाका सुपर दुई परियोजनाका नेतृत्वकर्ता खिम रेग्मीले जानकारी दिए । साथै, उपसचिव गौतमले विपद् प्रतिकार्यको जिम्मेवारी र भूमिकामा सुधार गर्नुपर्ने कुरा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विपद् व्यवस्थापनमा बिमा संस्थान र निजी क्षेत्रको महत्त्वपूर्ण भूमिकाको पनि चर्चा समेत गरिएको थियो । यसका साथै कर्णाली प्रदेशमा विपद् पूर्व तयारी तथा प्रतिकार्यको अवस्था र समस्याहरूको समाधानका उपायहरूको बारेमा समूह कार्य गरेर सहमति गरिएको गौतमको भनाइ थियो ।

कार्यक्रमको डब्लुएफपि कर्णाली प्रदेशका प्रमुख पूर्ण नेपालीले सबै क्लष्टरलाई एकजुट भएर सक्रिय रूपमा काम गर्नुपर्ने र दातृ निकायहरूले पनि पहल गर्नुपर्ने बताए । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका अध्यक्ष लिलाराम सुवेदीले विपद् व्यवस्थापनमा सबैले जिम्मेवारी र भूमिका अनुसार काम गर्नुपर्ने कुरामा जोड दिए । कानुन सचिव बुढाले प्रभावित समुदायलाई साझेदार बनाउने र स्थानीय समुदायलाई क्षमतावान् बनाउने कुरामा जोड दिए ।

प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार