२०८३ वैशाख ८ , मंगलबार

मुत्युदण्ड दिने शासकका पक्षधरहरूले राजतन्त्र ब्युँताउने कुरा गर्नु स्वीकार्य छैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ब्युँताउने कुरा स्वीकार्य नहुने बताएका छन्। मानव अधिकार रक्षकहरूको पाँचौं राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौं राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।

उनले भने, ‘जनताको अधिकारका लागि लागेकालाई मुत्युदण्ड दिने त्यस्ता शासकका पक्षधरहरूले राजतन्त्र ब्युँताउने कुरा गर्नु स्वीकार्य छैन।’ उनले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका शहीदहरूको त्याग र बलिदानबाट आज मुलुकमा मानव अधिकार सुनिश्चितताको स्थिति भएको उल्लेख गरे।

पञ्चायती शासन विरुद्धको आन्दोलनका क्रममा जेल सार्ने बहानामा वि।सं। २०२९ आजकै दिन झापाको सुखानीको जंगलमा लगेर हत्या गरिएका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठ तथा अन्य कालखण्डका शहिदहरूलाई प्रधानमन्त्री ओलीले स्मरण गरे।

आफूले कठोर जेल यातना भोगेकाले अहिलेको सरकारको पहिलो कर्तव्य मानव अधिकारको रक्षा हुने स्पष्ट गर्दै उनले विश्वयुद्ध प्रारम्भ हुँदाताका नै नेपालमा मानव अधिकारको अभियान प्रारम्भ भएको बताए।

प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार