२०८३ वैशाख ८ , मंगलबार

बाँकेको बाल सुधारगृहमा झडप, तीन प्रहरी घाइते



बाँके । बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधारगृहमा झडप भएको छ । बुधबार कानुनी विवादमा परेका बालकहरूलाई राख्ने विषयमा उत्पन्न विवादले झडप हुँदा तीन प्रहरी घाइते भएका छन् ।

कर्णालीबाट कानुनी विवादमा परेका तीन बालकलाई बालगृहमा बुझ्ने र बुझाउने क्रममा सुधारगृहभित्रका बालक र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए । बालगृहमा रहेका बालकहरूले सुर्खेतबाट पठाइएका बालकलाई राख्न अवरोध गरेपछि प्रहरीसँग झडप भएको कार्कीले बताए ।

कर्णालीमा बाल सुधारगृह नहँदा कानुनी झमेलामा परेका बालकहरूलाई बाँकेमा रहेका सुधारगृहमा पठाउने गरिएको छ । ‘सुर्खेतबाट ल्याइएका बालकहरूलाई बुझ्ने र बुझाउने प्रक्रिया थाल्दा सुधारगृहमा रहेका बालकहरूले प्रहरीलाई आक्रमण गरेपछि झडप भएको हो,’ कार्कीले भने, ‘सुधार केन्द्रमा रहेका बालकहरूले प्रहरीमाथि आक्रमण गर्दा तीन जना प्रहरी घाइते भएका छन् ।’

उनीहरूको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनका अनुसार प्रहरीमाथि आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । घटनापछि थप प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइएको कार्कीले बताए ।

कार्कीका अनुसार बाल सुधारगृहमा २ सय ५७ जना कानुनी विवादमा परेका बालकहरू रहेका छन् । बाल सुधारगृहमा झडप भएको यो पहिलो घटना भने होइन । यसअघि पनि बाल बिज्याइँमा परेका बालक र प्रहरीबीच पटक–पटक झडप हुने, फरार हुनेलगायतका घटना दोहोरिँदै आएका छन् ।

१८ वर्ष नाघेका युवायुवतीलाई लक्षित गरेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको केन्द्रीय बाल न्याय समितिले सुधारगृह गत वर्षदेखि सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार