सुर्खेत । कर्णाली प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने उत्तरपुस्तिका, परिक्षा केन्द्र, परीक्षामा खटिने जनशक्ति व्यवस्थापनलगायतका काम सम्पन्न भएका छन् । परीक्षाका लागि आवश्यक पर्ने सामग्री सम्बन्धित जिल्लामा पठाइएको छ ।
जिल्लाबाट केन्द्राध्यक्ष तोक्नेबाहेकका सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले जानकारी दिइन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा आगामी ७ चैतबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।
दोस्रो दिन ८ चैतमा अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । यस दिन गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इंग्लिस)को परीक्षा हुनेछ । १० चैतमा अनिवार्य गणित र १२ चैतमा विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।यस वर्षको एसईई परीक्षामा कर्णाली प्रदेशबाट ३७ हजार ९ सय ११ विद्यार्थी सहभागी हुनेछन् । जसमा नियमिततर्फ ३१ हजार ८०४, ग्रेडवृृद्धितर्फ ६ हजार १०७ र प्राविधिकतर्फ १ हजार ३ ४२ विद्यार्थी छन् ।
गत वर्षभन्दा दुई हजार विद्यार्थी बढी सहभागी हुने
शिक्षा विकास निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार यस वर्ष कर्णालीमा एसईई दिने विद्यार्थीको संख्यामा वृद्धि भएको छ । गत वर्ष कर्णालीबाट ३५ हजार आठ सय आठ विद्यार्थी एसईईमा सहभागी भएका थिए । यो वर्ष झण्डै दुई हजार विद्यार्थीको संख्यामा वृद्धि भएको देखिन्छ ।
गत वर्ष कुल विद्यार्थी संख्याको ५८ प्रतिशत विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी ननग्रेडेड भएका थिए । एसईई परीक्षामा प्रदेशभर १८० परीक्षा केन्द्र तोकिएको छ । जसमा प्राविधिक धारतर्फ १६ वटा परीक्षा केन्द्र तोकिएको निर्देशक हमालले बताइन् ।
सुर्खेतबाट सबैभन्दा धेरै
१० जिल्लामध्ये एसईईमा सबैभन्दा धेरै विद्यार्थी सुर्खेतबाट सहभागी हुँदै छन् । सुर्खेतबाट ९ हजार ५१३ विद्यार्थीले एसईई परीक्षा दिनेछन् । जसमा ३३ परीक्षा केन्द्रबाट सात हजार ५७ र ग्रेडवृद्धितर्फ २ हजार ४५६ विद्यार्थी छन् । सुुर्खेतबाट यस वर्ष १३० विद्यार्थीले प्राविधिक एसईई दिनेछन् । यस्तै, रुकुम पश्चिममा १५ परीक्षा केन्द्रबाट ३ हजार ६ ६८ विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । जसमा नियमिततर्फ ३ हजार ४ सय ४४ र ग्रेडवृद्धितर्फ २२४ जना विद्यार्थी छन् ।
रुकुम पश्चिमबाट १०६ जनाले प्राविधिकतर्फको परीक्षा दिनेछन् । सल्यानमा २३ परीक्षा केन्द्रबाट ४ हजार २६९ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । नियमिततर्फ ४ हजार ८५ र ग्रेडवृद्धितर्फ एक सय ८४ विद्यार्थी छन् । सल्यानमा दुई सय ७१ जनाले प्राविधिकतर्फको एईई परीक्षा दिनेछन् । हुम्लामा सातवटा परीक्षा केन्द्र तोकिएका छन् । हुम्लाबाट यस वर्ष एक हजार एक सय चार जनाले एसईई परीक्षा दिँदै छन् । जसमा नियमिततर्फ ९५० र ग्रेडवृद्धितर्फ १५४ विद्यार्थी छन् ।
आठवटा परीक्षा केन्द्र रहेको मुगुबाट ९४६ जना विद्यार्थी एसईईमा सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ७८५ र ग्रेडवृद्धितर्फ १६१ छन् । मुगुबाट प्राविधिकतर्फ ५७ विद्यार्थीले परीक्षा दिनेछन् । डोल्पामा ७ सय ७७ विद्यार्थी एसईईमा सहभागी हुँदै छन् । कुल चार परीक्षा केन्द्र रहेको डोल्पामा ७३३ नियमित र ४४ ग्रेडवृद्धिका विद्यार्थीले परीक्षा दिनेछन् । डोल्पाबाट एक सय ६५ विद्यार्थी प्राविधिकतर्फको परीक्षामा सहभागी हुनेछन् ।
यस्तै, २५ वटा परीक्षा केन्द्र रहेको कालीकोटबाट चार हजार ८९ विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । जसमा तीन हजार एक सय ९६ नियमित र आठ सय ९३ जना ग्रेडवृद्धितर्फका छन् । कालीकोटबाट ७२ जनाले प्राविधिकधारतर्फको परीक्षा दिनेछन् । १६ वटा परीक्षा केन्द्र रहेको जुम्लाबाट दुई हजार ६ सय ८१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । नियमिततर्फ दुई हजार पाँच सय १५ विद्यार्थी रहँदा एक सय ६६ गे्रडवृद्धिअन्तर्गतका विद्यार्थी छन् ।
जुम्लाबाट एक सय ४५ जनाले प्राविधिकतर्फको परीक्षा दिनेछन् । यस्तै, जाजरकोटबाट चार हजार ६ सय ६८ विद्यार्थीले २२ वटा परीक्षा केन्द्रबाट एसईई परीक्षा दिनेछन् । जसमा नियमिततर्फ चार हजार तीन सय ३९ र ग्रेडवृद्धितर्फ तीन सय २९ विद्यार्थी छन् । जाजरकोटबाट एक सय ११ जनाले प्राविधिकतर्फको परीक्षामा सहभागी हुनेछन् ।
यस वर्षको एसईईमा दैलेखबाट ६ हजार १ सय ९६ विद्यार्थी एसईई परीक्षा सहभागी हुँदै छन् । कुल २७ परीक्षा केन्द्रबाट नियमिततर्फ चार हजार सात सय र ग्रेडवृद्धितर्फ १ हजार ४९६ विद्यार्थीले परीक्षा दिनेछन् । यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न कर्णालीमा १ करोड ३९ लाख ३० हजार ५०० रुपैयाँ खर्च हुनेछ ।