
सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिका–१ मा युवकको शव फेला परेको छ । शनिबार बिहान छेडागाड नगरपालिका १२ का अन्दाजी २२ वर्षीय राजु सिंहको शव फेला परेको प्रहरीले जनाएको छ । शवमा केही चोट देखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
डीएसपी पाण्डेले भने ‘भेटिएको शवमा केही चोट देखिएको छ । मुचुल्का भइसकेको छ तर स्थानीयका कारण शव अहिलेसम्म पनि उठेको छैन्।’ सिँहले मादक पदार्थ सेवन गरेको घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले बताए ।
‘सिँहले मादक पदार्थ सेवन गरेको देखिएको छ ।’ ती अधिकृतले खबरदृष्टिसँग भने, ‘उनको गाडीले किचेको मृत्यु भएको जस्तो छ । तर कसको गाडीले किच्यो त्यो केही खुल्न सकेको छैन् ।’ उनले थपे, ‘घटनास्थलमा प्रमुख जिल्ला अधिकारी र डीएसपी सापको टोली आउनुभएको छ ।’
उनकाअनुसार शव भेटिएपछि स्थानीयले बिहानैदेखि शिवालय गाउँपालिकाको छेडाबजारमा कारवाहीको माग राख्दै टायर बालेर प्रर्दशन गरिरहेका छन् ।