२०८३ वैशाख ८ , मंगलबार

मलाई पुर्न खनेको खाल्डोमा सबै जाकिनेछन् : रवि लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पुर्न सरकारले खनेको खाल्डोमा उनीहरु नै जाकिने बताएका छ्न । सोमबार उच्च अदालत बुटवल इजलाशबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा लामिछानेले यस्तो धारणा राखेका हुन् ।

‘मलाई पुर्न भनेर सरकारले जत्रो खाल्डो खन्यो । मलाई मात्र पुर्न सानो खाल्डो खनेको भए त ठिकै हुन्थ्यो तर यति ठूलो खाल्डो खनियो कि यी सबै त्यो खाल्डोमा जाकिन्छन्’, लामिछानेले भने । त्यस्तै सञ्चारकर्मीको तपाईँ त हराउनुभयो नि ? भन्ने प्रश्नको जवाफ दिँदै लामिछानेले आफू नहराएको बताए ।

उनले भने, ‘म यतै छु, हराएको छैन । तयारीहरु गरिरहेको छु । मैले भन्ने कुराहरु बाँकी छ । जनताले हेरिरहेका छन् । जनतालाई राम्रोसित थाहा छ, जिल्लैपिच्छे मुद्दा लगाएर हातमा तारिख पर्चा थमाइएको । प्रशासकीय अधिकृत नपठाएको जनतालाई थाहा छ । खाली गाग्री पठाएको थाहा छ । आफ्ना मान्छेको मुद्दा छानिछानि जोगाएको र विपक्षीलाई छानिछानि मुद्दा लगाएको सबै थाहा छ । त्यसैले सरकारले जवाफ दिनुपर्यो । दुई तिहाइको सरकार होइन भन्या ? कि घट्यो ? के भयो, म त बाहिर थिएँ ।’

जनताले सरकारका गतिविधि हेरिरहेको बताउँदै लामिछानेले सरकारले बालेन र हर्कमाथि पनि अन्याय गरेको बताए । सभापति लामिछानेले राजा फर्काउन सुरु भएको आन्दोलनका विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । आन्दोलनमा उत्रिएको समूह पनि जनता नै भएको उनको भनाइ छ ।

‘यो दुई तिहाइको सरकार भन्या होइन र ! हामीले त भ्रष्टाचारविरुद्ध ठुलै अभियान सुरु गरेका थियौं । धेरै फाइल ओपन गरेका थियौं । ती सबै बन्द भए भन्ने सुनेको छु । सात महिनाअघि हामीले सरकार बुझाउँदा विभिन्न मानिसको गिरफ्तारी भएको थियो ।’, उनले भने, ‘माइतीघर मण्डला बन्द रहेकोमा हामीले खुला गरेका थियाै । अहिले जे भइरहेको छ, त्यसको जिम्मेवारी त दुई तिहाइको सरकारले नै लिनुपर्छ । सरकारलाई सबै थाहा हुनुपर्ने हो । त्यो हजारौंको हुल जनताकै हो नि ।’

प्रकाशित मिति : २०८१ फागुन २६ गते सोमबार