सुर्खेत । हुम्लामा माटोको ढिस्कोमा पुरिएर घाइते भएका चार जनाको उद्धार भएको छ । बुधबार बिहान सर्केगाड गाउँपालिका–७, रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर घाइते भएका उनीहरूलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत ल्याइएको हो ।
उक्त घटनामा स्थानीय नेत्रकला जैशीको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । घाइते हुनेमा २५ वर्षीया तीर्थकला जैशी, ३७ वर्षीया जालकी जैशी, २२ वर्षीया मन्जु जैशी र २९ वर्षीया लक्ष्मादेवी जैशी छन् ।
उनीहरूलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सूचना अधिकारी राजेन्द्रकुमार चन्दले बताए ।
प्रकाशित मिति : २०८१ फागुन २८ गते बुधबार