
सुर्खेत । कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका महिला सांसदहरूले आमसञ्चार माध्यममा लैङ्गिक समावेशिताको सवाल कम उठ्ने गुनासो गरेका छन् । मङ्गलवार वीरेन्द्रनगरमा संसदीय मामिला सम्बन्धी पत्रकारहरूसँग लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङ विषयक तीन दिने कार्यशालाको समापन समारोहमा सहभागी सांसदहरूले सञ्चार माध्यममा महिलाका सवालले उचित स्थान पाउन नसकेको बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सन्तोषी शाहीले संसद्मा महिलाहरूले उठान गर्ने विषयले निकै कम प्राथमिकता पाउने गरेको बताइन । सरकारले ठुला आयोजनाको अनुगमन तथा अन्य महत्त्वपूर्ण निर्णय लिँदा आफूहरूलाई सहभागी नगराइने गरेको गुनासो उनको छ । यसतर्फ पत्रकारहरूले ध्यान पु¥याउन नसकेको उनले बताइन ।
यस्तै, प्रदेश मामिला समितिका सभापतिसमेत रहेकी नेकपा एकीकृत समाजवादीबाट निर्वाचित रुकुम पश्चिमका सांसद कल्याणी खड्काले कर्णालीका सामाजिक तथा सांस्कृतिक कुरीति अन्त्य गर्ने खालका बहसमा पत्रकारहरूको ध्यान कम गएको बताइन । देशमा सङ्घीयता कार्यान्वयन भएसँगै कर्णालीको अवस्था सुधारोन्मुख रहेको बताउँदै खड्काले लैङ्गिक सहभागिताको सवाल सन्तोषजनक बन्न नसकेको बताइन ।
महिलालाई विशेष गरी राजनीतिमा आउन विविध सामाजिक कारण बाधक रहेको उल्लेख गर्दै खड्काले संविधानमा व्यवस्था भए अनुसार बाध्यकारी नीति अवलम्बन नगरिएसम्म लैङ्गिक समावेशी सहभागिताको सवाल बलियो बन्न नसक्ने बताइन । यसका लागि निर्वाचन प्रणालीमै सुधार गर्नुपर्ने खड्काको तर्क थियो । विभिन्न समयमा भएका राजनीतिक आन्दोलनले महिला सहभागिता बढ्नु सकारात्मक रहेको उनको भनाई थियो ।
यद्यपि सहभागिता बढ्नुले नभई महिलालाई निर्णय प्रक्रियामा कतिको संलग्न गराइएको छ भन्ने विषयले अर्थ राख्ने उनको तर्क थियो । नेतृत्वमा रहेका महिलाहरूको क्षमतामाथि प्रश्न उठ्नु स्वाभाविक रहेको उल्लेख गर्दै सांसद खड्काले यसबाट उनीहरूलाई नागरिकप्रति उत्तरदायी हुन सिकाउने बताइन । यस्तै, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दक्षिणा शाहीले पुरुषको तुलनामा महिलालाई राजनीतिमा आउन निकै चुनौती रहेको बताइन ।
नेकपा एमालेबाट निर्वाचित कालिकोटकी सांसद शाहीले संविधानले सहभागिता अनिवार्य गरेको भए पनि पुरुषवादी सामाजिक चिन्तनले राजनीतिज्ञ महिलालाई जताततै चुनौती रहेको गुनासो गरिन । आफूले नेतृत्व गरेको समितिमा कतिपय कानुन निर्माणका क्रममा पुरुष सांसदबाट अप्ठ्यारोमा पर्ने गरेको उनले बताइन । संसद्मा प्रतिनिधित्व गर्नेको मात्र नभई पछाडि पारिएका अन्य वर्गका महिलाको मौलिक हक स्थापित गराउन सञ्चार जगतले सशक्त आवाज उठाइदिनुपर्ने शाहीले धारणा राखिन ।
डोल्पाबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्व जलस्रोत तथा ऊर्जा मन्त्री उर्मिला विश्वकर्माले महिला त्यसमा पनि दलित तथा उत्पीडनमा परेका महिलाको सवाल प्राथमिकतामा राखिनुपर्ने बताइन । समानुपातिक निर्वाचन प्रणालीबाट आउने महिलाहरू नेताका आसेपासे र कमजोर हुन्छन् भन्ने मानसिकता त्याग्नुपर्ने सांसद विश्वकर्माको धारणा छ ।
यस्तै, माओवादीबाट निर्वाचित रुकुम पश्चिमका सांसद मिलन रोकाले महिलाका सवालहरू सशक्त ढङ्गले उठान हुनुपर्ने बताइन । महिलाप्रति हेरिने दृष्टिकोण एकातिर व्यवहार अर्को हुँदा सहभागिताको सवाल ओझेलमा परेको उनले बताइन । पुरुषको तुलनामा महिलालाई चुलो, चौका, परिवार तथा समाजबाट माथि उठेर राजनीतिमा स्थापित हुन निकै चुनौती झेल्नुपर्ने स्थिति रहेको सांसद रोकाले बताइन ।
हुम्लाबाट निर्वाचित माओवादी सांसद जुुमकित लामाले संसद्मा महिलाले बोलेका विषय आमसञ्चार माध्यमले खासै प्राथमिकता नदिने गरेको बताइन । समाजमा आवाज उठाउन नसक्ने वर्गको पक्षमा पत्रकारिताले वकालत गर्नुपर्ने उनको धारणा छ । केही गर्न सक्दैनन् भन्ने गलत सोचबाट शिक्षित समाजमा महिलालाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजयी हुन निकै चुनौती रहेको सांसद लामाले बताइन ।
यस्तै, सुर्खेतबाट निर्वाचित काँग्रेस सांसद बलिमाया बुढाले मन्त्री भए मात्रै महिला पत्रकारका आँखामा पर्ने गरेको दाबी गरिन । ठुलो पदमा पुगेका महिलाले मात्रै काम गर्न सक्छन् भन्ने मनोविज्ञानका कारण सानो ओहोदामा बसेर काम गरेकाहरू ओझेलमा परेकाप्रति पत्रकारहरू सचेत रहनुपर्ने सांसद बुढाले बताइन ।
युएन उमनको आर्थिक तथा प्राविधिक सहयोगमा महिला अधिकारका क्षेत्रमा कानुनी वकालत गर्दै आएको महिला, कानुन र विकास मञ्चको आयोजनामा आइतबारदेखि वीरेन्द्रनगरमा सुरु भएको संसदीय मामिला सम्बन्धी पत्रकारहरूसँग लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङ विषयक कार्यशाला मङ्गलवार सम्पन्न भएको थियो ।
कार्यशालामा सहभागी आठ जना महिला र दुई जना पुरुष पत्रकाहरुलाई संसदीय रिपोटिङ्गमा अपनाउनुपर्ने लैङ्गिक संवेदनशीलताका सवालमा वरिष्ठ पत्रकार शिव गाउँलेले अभिमुखीकरण गरेका थिए । गाउँलेले संसदीय रिपोटिङ्गको आवश्यकता र महत्त्व तथा खोज पत्रकारितामा अपनाउन सकिने नविनतम् ज्ञान सीपका बारेमा अभिमुखीकरण गरेका थिए ।