२०८३ वैशाख ८ , मंगलबार
आजदेखि एसइई सुरु

कर्णालीबाट ३७ हजार बढी विद्यार्थी सहभागी

असार ७ भित्रै नतिजा निकाल्ने बोर्डको तयारी 


प्रकाश शाही, सुर्खेत । देशैभर आजबिहानदेखि सुरु भएकाे माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशबाट यस वर्ष ३७ हजार बढी विद्यार्थी सहभागी हुँदैछन् । कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयले दिएको तथ्याङ्क अनुसार कर्णालीका १० जिल्लाबाट यस वर्ष ३७ हजार ९ सय ११ जना परीक्षामा सहभागी हुन लागेका हुन् ।

एसइई दिने विद्यार्थीको गत वर्षभन्दा यस वर्ष वृद्धि भएको छ । गत वर्षको भन्दा यस वर्ष करिब २ हजार १ सय ३ जना विद्यार्थीको सङ्ख्या वृद्धि भएको देखिन्छ । गत वर्ष कर्णालीमा ३५ हजार ८ सय ८ विद्यार्थी ९एसइई० मा सहभागी भएका थिए ।

परीक्षा दिनेमा नियमिततर्फ ३१ हजार ८ सय ४, ग्रेड वृद्धितर्फ ६ हजार १ सय ७ र प्राविधिकतर्फ एक हजार ३ सय ४२ विद्यार्थी रहेका छन् । एसइईमा प्रदेशभरबाट १ सय ८० परीक्षा केन्द्र तोकिएको शिक्षा विकास निर्देशनालय निमित्त निर्देशक दिपा हमालले बताइन् ।

कुन जिल्लामा कति विद्यार्थी ?
कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै विद्यार्थी सुर्खेतबाट सहभागी हुँदैछन् । यहाँबाट ९ हजार ५ सय १३ विद्यार्थीले परीक्षा दिनेछन् । जसमा ३३ परीक्षा केन्द्रबाट सात हजार ५७ र ग्रेड वृद्धितर्फ दुई हजार ४ सय ५६ छन् । सुर्खेतबाट यस वर्ष १ सय ३० विद्यार्थीले प्राविधिक एसइई दिनेछन् ।

दैलेखबाट ६ हजार १९६ विद्यार्थी एसइई परीक्षा सहभागी हुँदै छन् । कुल २७ परीक्षा केन्द्रबाट नियमिततर्फ चार हजार ७ सय र ग्रेड वृद्धितर्फ एक हजार ४ सय ९६ विद्यार्थीले परीक्षा दिनेछन् । यस्तै, २५ वटा परीक्षा केन्द्र रहेको कालिकोटबाट चार हजार ८९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन्।

जसमा तीन हजार १ सय ९६ नियमित र ८ सय ९३ जना ग्रेड वृद्धितर्फका छन् । कालिकोटबाट ७२ जनाले प्राविधिक धारतर्फको परीक्षा दिनेछन् । १६ वटा परीक्षा केन्द्र रहेको जुम्लाबाट दुई हजार ६ सय ८१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । नियमिततर्फ दुई हजार ५ सय १५ विद्यार्थी रहँदा १ सय ६६ ग्रेडवृद्धि अन्तर्गतका विद्यार्थी छन् ।

जुम्लाबाट १ सय ४५ जनाले प्राविधिकतर्फको परीक्षा दिनेछन् । हुम्लामा सात वटा परीक्षा केन्द्रहरू तोकिएका छन् । हुम्लाबाट यस वर्ष एक हजार १ सय ४ जनाले एसइई परीक्षा दिँदैछन् । जसमा नियमिततर्फ ९ सय ५० र ग्रेड वृद्धितर्फ १ सय ५४ विद्यार्थी छन् । ८ वटा परीक्षा केन्द्र रहेको मुगुबाट ९ सय ४६ जना विद्यार्थी एसइईमा सहभागी हुँदै छन्।

जसमा नियमिततर्फ ७ सय ८५ र ग्रेड वृद्धितर्फ १ सय ६१ छन् । मुगुबाट प्राविधिक धारतर्फको परीक्षामा ५७ विद्यार्थीले परीक्षा दिनेछन् । डोल्पामा ७ सय ७७ विद्यार्थी एसइईमा सहभागी हुँदै छन् कुल चार परीक्षा केन्द्र रहेको डोल्पामा ७ सय ३३ नियमित र ४४ ग्रेड वृद्धिका विद्यार्थीले परीक्षा दिनेछन् ।

डोल्पाबाट १ सय ६५ विद्यार्थी प्राविधिक धारतर्फको परीक्षामा सहभागी हुनेछन् । जाजरकोटबाट चार हजार ६ सय ६८ विद्यार्थीले २२ वटा परीक्षा केन्द्रबाट एसइई परीक्षा दिनेछन् ।  जसमा नियमिततर्फ चार हजार ३ सय ३९ र ग्रेड वृद्धितर्फ तीन सय २९ विद्यार्थी छन् ।

जाजरकोटबाट १ सय ११ जनाले प्राविधिकतर्फको परीक्षामा सहभागी हुनेछन् । यस्तै, रुकुम पश्चिममा १५ परीक्षा केन्द्रबाट तीन हजार ६ सय ६८ विद्यार्थी एसइई दिँदैछन् । जसमा नियमिततर्फ तीन हजार ४ सय ४४ र ग्रेड वृद्धितर्फ २ सय २४ जना विद्यार्थी छन्। रुकुम पश्चिमबाट १ सय ६ जनाले प्राविधिकतर्फका छन् ।

सल्यानमा २३ परीक्षा केन्द्रबाट चार हजार २ सय ६९ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । नियमिततर्फ चार हजार ८५ र ग्रेड वृद्धितर्फ १ सय ८४ विद्यार्थी छन् । सल्यानमा २ सय ७१ जनाले प्राविधिक धारतर्फको एसइई दिनेछन् ।

देशभरबाट ५ लाख र जापानबाट २९ जनाले एसइई दिँदै 
आज ८ बजेदेखि सुरु भएकाे परीक्षामा देशभरबाट ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन् । एसइईका लागि देशभर २ हजार ८० परीक्षा केन्द्र तोकिएका छन् । यस वर्ष जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसइई दिँदैछन् ।

यस्तै केन्द्रीय कारागार सुनधारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन् । सबैभन्दा बढी विद्यार्थी काठमाडौँबाट ३९ हजार ६ सय विद्यार्थीले एसइई दिँदै छन्। सबैभन्दा कम परीक्षार्थी मनाङमा ४३ जना छन् ।

२७ करोड ७० लाख रकम विनियोजन 
सरकारले एसइईका लागि प्रत्येक वर्ष २७ करोड ७० लाख रकम छुटाउने गरेको छ । त्यसमध्ये १७ करोड उत्तर पुस्तिका र प्रश्न पत्र छपाइमा खर्च हुने र अन्य रकम व्यवस्थापन, कापी परीक्षण, जनशक्ति, तयारीलगायतमा खर्च हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एसइई परीक्षाको सम्पूर्ण जिम्मा बोर्डले नै लिएको छ। परीक्षा केन्द्र तोक्ने र उत्तर पुस्तिका प्रकाशन गर्ने काम मात्र प्रदेश सरकारले पाएको छ ।

नतिजा ७ असार भित्रै आउने 
राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सुरु हुने एसइई को नतिजा आगामी असार ७ गतेभित्र निकाल्ने जनाएको छ । परीक्षा सञ्चालन भएको ९० दिनभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरिएको बोर्डले जानकारी दिएको हो ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा कहिले आउँछ भनेर विद्यार्थीलाई अन्योल नहोस् भनेर यस वर्ष नतिजा निकाल्ने मिति तोकिएको बताए ।

प्रकाशित मिति : २०८१ चैत ७ गते बिहीबार