
जाजरकोट। जाजरकोटमा भूकम्प पीडितका नाममा आएको राहत सामग्री समयमै वितरण नगर्दा म्याद सकिएपछि जलाइएको छ । भूकम्पबाट अति प्रभावित भेरी नगरपालिकालाई विभिन्न सङ्घ संस्था, व्यक्ति, सरकार, दातृ निकायले भूकम्प पीडितलाई वितरण गर्नु भनेर राहत दिएका थिए ।
तर समयमै वितरण हुन नसक्दा नगरपालिकाले राहत सामग्री जलाएको हो । बुधबार नगरपालिकाले केहि राहत सामाग्री म्याद सकिएको भन्दै लत्ता कपडा स्वीटर ज्याकेट टिर्सट र केहि खाद्यान्नहरु समेत जलाएको छ ।
यस विषयमा नगरपालिकाकी उपप्रमुख सीता जैसीले यस विषयमा आफुलाई कुनै पनि जानकारी नभएको बताइन् । ‘खै मलाई थाहा भएन, मलाई सञ्चाे नभएर घरमै छु,’ उनले भनिन्, ‘३/४ दिन अगाडि त मैले १२/१५ जना दिदीबहिनी बोलाएर दिन पठाएकी हुँ, अब छैन भन्थे मसँग खै क्या गर्छन्, त्यो पालिकाका मान्छेले ?’
यता, नगरपालिका विपद् शाखा प्रमुख यज्ञराज गौतमले म्याद गुज्रिएका केही राहत सामग्री नष्ट गरिएको स्वीकार गरे । उनले भने, ‘हामी सबै बसेर काम नलाग्ने, म्याद सकिएका खाद्यान्नहरु नष्ट गरेका छौं, पछि पनि काम लाग्ने गरी केही खाद्यान्न राखेका थियौं, म्याद सकिएछ, ति सामग्री नष्ट गरेका हौं ।’
‘पुरानो लत्ताकपडा जतिवेला विद्यार्थी संघ संस्था तथा विद्यार्थी संगठनहरुले पुराना कपडाहरु राखेका थियौं, उनले थपे ‘कुनै नागरिकले नलिएपछि हामीले फालिदिएका छौं, काम नलाग्ने खालका कपडा फालेका छौं ।’ चाउचाउ लगायतका खाद्यान्न राहत सामग्रीको म्याद सकिएपछि हामीले बोरामा हालेर ट्याक्टरमा राखिएर फालिएको प्रमुख गौतमले बताए ।
२०८० कार्तिक १७ गते गएको विनासकारी बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पले जाजरकोटमा ठूलो धनजनको क्षति भएको थियो।