२०८३ वैशाख ८ , मंगलबार

परीक्षाको समयमा सधैँ लापरबाही : कतै प्रश्न पत्र आउट त कतै पैसा असुली !

आखिर कसको हो कमजोरी ?


कुलेन्द्र शाही, सुर्खेत । बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । परीक्षा सुरु भएको समयमा सधैँ परीक्षा केन्द्रमा कहीँ न कतै लापरबाही देखिएकै हुन्छ । प्रश्न पत्र आउट, नक्कली परीक्षार्थी, चिट चोराउने, व्यावहारिक नम्बर बढाइदिने बहानामा पैसा असुली लगायतका लापरबाही प्रत्येक वर्ष देखिँदै आएका छन् ।

पहिलो दिन र दाेस्राे दिन कर्णालीमा पुरानै परम्परा दोहोरिएको छ । एसइईको पहिलो दिन बिहीबार परीक्षा सुरु भएको एक घण्टामै नहुँदै अङ्ग्रेजी विषयको प्रश्न पत्र बाहिरियो । जाजरकोटको शिवालय गाउँपालिका–७ स्थित वीरेन्द्र माध्यमिक विद्यालय जुँगाथापाचौरमा परीक्षा सुरु भएको १ घण्टा नहुँदै प्रश्न पत्र बाहिरिएको थियो ।

प्रश्न पत्र सामाजिक सञ्जाल म्यासेन्जर र ह्वाट्सएप मार्फत ग्रुप बनाएर आउट गरिएको थियो । प्रश्न पत्र आउट गरिएको फोटा ग्रुपमा जोडिएका एक व्यक्तिले सिद्धदर्शन दैनिकलाई पठाएका थिए । सिद्धदर्शन दैनिकले प्राप्त गरेको प्रश्न पत्र शिवालय–७ मा रहेको वीरेन्द्र मावि जुँगाथापाचौरबाट बाहिरिएको खुलेको थियो ।

परीक्षा हलमा विद्यार्थीले बनाएको म्यासेन्जर ग्रुप

उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर खत्रीले प्रश्न पत्र बाहिरिएको कुरा पुष्टि नभएको बताएका थिए । केन्द्राध्यक्ष खत्रीले परीक्षा केन्द्रमा आफूले निकै कडाइ गरी मर्यादित रूपमा परीक्षा सञ्चालन गरेको दाबी गरे । तर, सिद्धदर्शन दैनिकलाई प्रश्न पत्र आउट भएको फोटा पठाउने व्यक्तिले वीरेन्द्र माविबाटै प्रश्न पत्र बाहिरिएको दाबी गरेका थिए ।

विगतमा पनि उस्तै रोग
यस वर्षको एसइई परीक्षामा मात्रै होइन । यस अघिदेखि नै एसइई परीक्षामा गम्भीर लापरबाही हुने गरेको छ । ती मध्ये जाजरकोट मात्रै होइन कर्णालीका अधिकांश जिल्लामा सधैँ यस्तै बदमासी हुने गरेको उदाहरण देखिँदै आएका छन् । प्रश्न पत्र आउट गर्ने मात्रै होइन जाजरकोट, सुर्खेत, दैलेख लगायतका जिल्लाका कतिपय विद्यालयले परीक्षालाई कमाऊँ धन्दाका रूपमा लिएका थिए ।

जसमा गत वर्ष जाजरकोटको कुशे गाउँपालिकास्थित लक्ष्मी माध्यमिक विद्यालय परीक्षा केन्द्र र जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा विद्यार्थीलाई चिट चोराउन सजिलो हुन्छ भनेर विद्यार्थीबाट पैसा असुल गरिएको थियो । विद्यार्थीबाट पैसा उठाएर केन्द्राध्यक्ष र सुरक्षामा खटिएका प्रहरीलाई पैसा घुस खुवाएर चिट चोराउने भन्दै विद्यार्थीबाट पैसा असुल गरिएको थियो ।

रकम कक्षा १२ को प्राविधिक र सामान्यतर्फबाट विद्यार्थीबाट पैसा असुल गरिएको हो । जनता माविका दुई सय जना विद्यार्थीबाट प्रवेश पत्र दिँदा प्रतिविद्यार्थी एक हजार, थर्पु माविमा ३९ जना विद्यार्थीबाट प्रतिविद्यार्थी दुई हजार पाँच सय र लक्ष्मी प्राप्ति माध्यमिक विद्यालयका एक सय ९५ जना विद्यार्थीबाट प्रति विद्यार्थी एक हजारका दरले रकम असुल गरिएको थियो ।

यस्तै गत वर्ष नै शिवालय गाउँपालिका ६ को इन्द्र ज्योति माविले पनि परीक्षाको समयमा मनोमानी तरिकाले पैसा असुल्ने गरेको गुनासो आएको थियो । कक्षा १२ को परीक्षामा विद्यालयले व्यावहारिक (प्राक्टिकल) नम्बर दिने सर्तमा पैसा असुल गरेको अभिभावकको गुनासो थियो । विद्यालयले शिक्षण अभ्यास नगरेको र व्यावहारिक नम्बर दिने भन्दै २ हजार पैसा लिएको एक परीक्षार्थीले बताएका थिए ।

यस्तै केही दिन अगाडि सुर्खेतको सिम्ता गाउँपालिका–२ काफलकोटस्थित जीवन ज्योति माविले अभिभावक सहयोगको नाम दिएर परीक्षा दिने विद्यार्थीहरूबाट निकै चर्को शुल्क असुलेको पाइएको थियो । विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूबाट अभिभावक सहयोग शुल्क भन्दै चर्को शुल्क असुलेको विद्यार्थीका अभिभावकले गुनासो गरेका थिए ।

विद्यालयले कक्षा ६ देखि १० कक्षाका प्रत्येक विद्यार्थीहरूबाट करिब १ हजार ५ सय रुपैयाँदेखि २ हजारसम्म लिएका थिए । विद्यालयले अभिभावक शुल्क भनेर रकम असुले पनि अभिभावकले बुझाएको रकमको कुनै पनि रसिद नदिएको अभिभावकको भनाइ छ । माथि उल्लेखित कर्णालीका प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । यस्ता धेरै बदमासीले एसइई परीक्षा सञ्चालनमै गम्भीर प्रश्न खडा भएको छ ।

किन हुन्छ बारम्बार यस्तो बदमासी ?
जाजरकोट मात्र नभई कर्णालीका अधिकांश जिल्लामा परीक्षाको समयमा यस्ता समाचारले निकै स्थान पाउँछन् । परीक्षामा किन यस्तो लापरबाही हुन्छ भन्नेबारेमा खासै छानबिन भएको देखिँदैन । तर, सिद्धदर्शन दैनिकले बिहीबार यस विषयमा खोजी कार्य गरेको छ । जसमा जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी समीर गौतमले परीक्षाको समयमा सधैँ लापरबाही हुनुमा विद्यार्थी तथा अभिभावकमा चेतनाको कमी भएको बताए ।

उनले अधिकांश ठाउँमा केन्द्राध्यक्षको लापरबाहीले मात्रै प्रश्न पत्र आउट हुने गरेको बताए । साथै परीक्षाको समयमा विद्यार्थीबाट रकम उठाउनु कानुन विपरीत भएको हुँदा यसलाई रोक्न हामी सबैको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । ‘प्रश्न पत्र आउट हुने भनेको केन्द्राध्यक्षको लापरबाहीले हो । तर विद्यार्थीबाट पैसा उठाउनु भनेको त विद्यार्थीहरूका चेतनाको कमी देखिन्छ ।,’

सूचना अधिकारी गौतमले सिद्धदर्शन दैनिकसँग भने ‘यसै त विद्यार्थी परीक्षाको समयमा फरकै सोच बनाएको हुन्छ, फेल हुन्छ कि भन्ने डर बोकेको हुन्छ यस्तो अवस्थामा पास गराइदिन्छु भनेर पैसा उठाउनु भनेको त विद्यालयको ठग्ने नियत हो ।,’ उनले थपे, ‘यसरी ठग्ने नियतलाई हामीले रोक्नुपर्छ । पढाइ र परीक्षा दुबैलाई कडाइ गर्नुपर्छ ।’

उनले जाजरकोटका परीक्षाको समयमा सहजै पास गर्ने भनाइ सुनिने गरेको हुँदा उक्त भनाइलाई अन्त्य गर्नुपर्ने दायित्व भएको बताए । साथै उनले बिहीबार शिवालयमा प्रश्न पत्र बाहिरिएको विषयमा आफूहरूको ध्यानाकर्षण भएको बताउँदै यस विषयमा अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।

चर्चा हुन्छ, कारबाही हुँदैन
यसरी एसइई परीक्षामा मात्र नभई कक्षा १२ को परीक्षामा समेत यस्तै बदमासी हुने गरेका तथ्याङ्क परीक्षाको समयमा व्याप्तै भेटिन्छन् । परीक्षाको समयमा यस्ता विषयमा निकै चर्चा पाएपनि वास्तविक रूपमा भने कारबाही भएको भने कतै सुनिँदैन । बिहीबार मात्रै एसइईको प्रश्न पत्र बाहिरिएको समाचार प्रमाणसहित खबरदृष्टिले प्रकाशन ग¥यो ।

यो हेर्नुहोस् – 

तर, उक्त विद्यालयका न केन्द्राध्यक्ष न त विद्यार्थीलाई नै केही कारबाही भयो । बरु, उल्टै समाचार गलत प्रकाशन भएको भन्दै ढाकछोप गरियो । ‘प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतको संयुक्त टोली विद्यालय (परीक्षा केन्द्र) मा आएको थियो ।’

विद्यालयका एक शिक्षकले सिद्धदर्शन दैनिकसँग भने, ‘उक्त टोलीले वीरेन्द्र माविबाट प्रश्न पत्र बाहिरिएको होइन भन्ने निष्कर्ष निकाल्यो । तैपनि आन्तरिक रूपमा छानबिन गरौला भन्दै टोली फर्कियो ।’

बरिष्ठ शिक्षा अधिकृत मानबहादुर बस्नेतले फेसबुकमा लेखेकाे स्टाट्स

त्यति मात्रै होइन मिडियामा आएको प्रश्न पत्र नै नबुझिएको, अन्य विद्यालयबाट बाहिरिएको हुन सक्ने भन्दै सामान्य छलफल गरेर उक्त टोलीले फर्किएको ती शिक्षकले जानकारी दिए ।

यस विषयमा शिवालयका वरिष्ठ शिक्षा अधिकृत मानबहादुर बस्नेतले आफूहरूले प्रश्न पत्र बाहिरिएको विषयमा छानबिन गर्ने तयारी गरेको बताए । उनले उक्त विद्यालयबाट प्रश्न पत्र बाहिरिएको कुरा आफूलाई विश्वास नलागेको दाबी गरे ।

शिवालयमा एक घण्टामै बाहिरीयो प्रश्नपत्र

प्रकाशित मिति : २०८१ चैत ८ गते शुक्रबार