२०८३ वैशाख ८ , मंगलबार

मार्बलले च्यापेर ट्रक पछाडि बसेका मजदुरको मृत्यु

गुर्भाकोटका ३५ वर्षीय विकास सुनार पक्राउ


सुर्खेत । रूकुम पश्चिममा मार्बलले च्यापेर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्की रहेका छन् । मार्बल बाँधेको डोरी चुँडिएपछि मार्बल र सिमेन्टले च्याप्दा ट्रकको पछाडि बसेका उनको टाउको र ढाडमा गहिरो चोट लागेको थियो ।

देवचन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको र केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । उनीसँगै ट्रकको पछाडि सवार त्रिपुरासुन्दरी–६ का २१ वर्षीय मन्दिर सार्की घाइते भएको रूकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ऋषि पाठकले जनाकारी दिए ।

उनी बोल्न सक्ने अवस्थामा रहेको र रूकुम पश्चिमै उपचार जारी छ । चौरजहारी नगरपालिका–१ गुडिरहेको लुम्बिनी पदेश ०३–००१ क ००२७ नम्बरको मिनी ट्रकमा मार्बलको सुरक्षाको लागि बसेका सार्कीद्वयलाई मार्बल बाँधेको डोरी चुँडिएपछि च्यापेको थियो ।

उनीहरू ठाउँ ठाउँमा सामान अनलोड गर्दै हिँडेका थिए । घटनालगत्तै फरार सुर्खेतको गुर्भाकोट नगरपालिका– ११ का ३५ वर्षीय चालक विकास सुनारलाई केहीबेर अघि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ चैत ८ गते शुक्रबार