२०८३ वैशाख ८ , मंगलबार

सुर्खेतका २२ कृषकले प्रतिव्यक्ति एक लाख रुपैयाँ अनुदान पाउँदै



सुर्खेत । पशुपन्छी विकास निर्देशनालयले सुर्खेत जिल्लाका करिब २२ जना कृषकलाई गाई, भैँसी र बाख्रा दिने भएको छ । शुक्रवार वीरेन्द्रनगरमा युवा लक्षित पशु सेवा कार्यक्रमको अभिमुखीकरण गोष्ठीको आयोजन गर्दै सुर्खेत जिल्लाका करिब २२ जनालाई कृषकलाई पशु अनुदान दिने भएको हो ।

निर्देशनालयका पशु स्वास्थ्य अधिकृत मोहन गिरीले २२ जना कृषकमा प्रतिव्यक्ति १ लाखका दरले निर्देशनालयले अनुदान दिने तयारी गरेको जानकारी दिए । ‘हामीलाई आवेदन दिएर छनोट भएका २२ जना किसानलाई प्रति किसान १ लाख रकम दिनेछौँ । उक्त रकमले बाख्रा, भैँसी र गाई किन्नसक्नु हुन्छ ।’ उनले भने, ‘पशु किनिसकेपछि अनिवार्य रूपमा पशुको बिमा गराउनुहोला ।,’

उनकाअनुसार छनोट भएका २२ जना कृषकले नयाँ व्यवसाय थालनी गर्न लागेका हुन् । निर्देशनालयले चालु आर्थिक वर्षमा युवा लक्षित पशु सेवा कार्यक्रम भन्दै करिब २२ लाख रकम विनियोजन गरेको छ । सोही रकमले २५ वर्ष पुरा भई ५० वर्षसम्मकालाई रोजगार बनाउने उद्देश्यले अनुदान दिन थालेको हो ।

उनले आफूहरूले अनुदान दिएका कृषकहरूबाट रोजगार साथै अन्य स्थानीयलाई समेत रोजगार दिने अपेक्षा गरेको बताए । ‘तपाईँहरू ढुक्क भएर एउटै व्यवसायमा लाग्नुहोस्, बजारीकरणको कुनै पनि समस्या हुँदैन। सुर्खेत जिल्ला बाख्राको पकेट क्षेत्र पनि हो ।,’ उनले भने । अधिकृत गिरीले आफूहरूले हालसम्म व्यवसाय गरिरहेका कृषकको खाताका रकम पठाइरहेको हुँदा नयाँ किसानलाई पनि सोही अनुसार रकम पठाउने बताए ।

यस्तै निर्देशनालयमा निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीले युवाहरूलाई पशुपालनमा प्रेरित गर्न युवा लक्षित कार्यक्रमको बनाएको जानकारी दिए । उनले युवाहरू स्वरोजगार र पशुको वृद्धि विकास होस् भन्ने हेतुले नयाँ किसानलाई छनोट गरेर अनुदान दिन थालेको बताए ।

निर्देशक पंगेनीले वैशाख १५ गतेसम्म किसानलाई अनुदान दिइसक्ने बताए । कार्यक्रममा वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, चौकुने र पञ्चपुरीका कृषकहरु उपस्थित भएका थिए ।

 

प्रकाशित मिति : २०८१ चैत ८ गते शुक्रबार