
शुन्य समयमा हाँस्दै एमाले सांसद कलबहादुर हमाल
सुर्खेत । एउटा भिडियोले अहिले सामाजिक सञ्जाल निकै तातेको छ । कर्णाली प्रदेश सभामा सोमबार हाँस्दै गरेका एमाले सांसद कलबहादुर हमालको भिडियोले सामाजिक सञ्जाल तताएको हो । उनको त्यो भिडियो सामाजिक सञ्जालमा शेयर नगर्ने सायदै होलान् । सभामा उनको हाँसोबारे अहिले पनि सामाजिक सञ्जालमा निकै टीकाटिप्पणी भइरहेको छ ।
सोमबार बैठकमा उनलाई सभामुख नन्दा गुरुङले शून्य समयमा बोल्न समय दिइन् । सभामुखले उनको नाम भन्ने बित्तिकै सांसद हमालले माइक समाउँदै बोल्न सुरु गरे । उनले माइक समाउँदै भने, ‘शून्य समयको सदुपयोग गरिहालौं भनेर हजुर ।’ उनले उक्त भनाइ टुंग्याउन नपाउँदै त्यहाँ उपस्थित भएका सांसददेखि सभामुख सबै हाँसिरहेका थिए ।
अनि सांसद हमालले पनि आफ्नो वाक्य टुंग्याउन नपाउँदै एकछिनमा जोडले हाँसे । त्यति मात्रै होइन वाक्य टुंग्याएपछि पनि उनी केहीबेर माइक समाएरै हाँसे । उनले आफ्नो हाँसो चाहेर पनि रोक्न सकेनन् । अहिले उनै सांसद हाँसेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो । आखिर सांसद हमाल के विषयमा हाँसेका थिए भन्ने बारेमा खबरदृष्टिले उनीसँग बुझेको छ ।
उनले आफू उठ्ने बित्तिकै अरू सांसद हाँसेको हुनाले आफू पनि हाँसेको बताए । ‘सभामुखज्यूले मेरो नाम भन्ने बित्तिकै अरू सांसदहरू हाँस्नुभयो अरू हाँसेपछि मैले पनि हाँसो रोक्न सकिनँ,’ उनले खबरदृष्टिसँग भने, ‘हाँसेर केही अन्यथा भएको जस्तो त लाग्दैन ।’ उनले थपे, ‘त्यो सामान्य विषय थियो तर कतिपय साथीहरूले भिडियो काटेर यसलाई नकारात्मक बनाएर ट्रोल बनाउने काम गर्नुभयो ।’
उनले सभाको भिडियो खिच्ने क्यामेराले आफूलाई मात्र ‘जुम’ गरेकाले अन्य सांसदहरू हाँसेको नदेखिएको बताए । ‘म मात्रै होइन अन्य सांसदहरू पनि हाँस्नुभएको थियो । तर क्यामेराले मलाई मात्रै जुम गरेछ,’ उनले भने, हाँसेर केही बिग्रेको होइन, रमाइलै भएको हो, बैठक सकिएपछि माननीय जीवनबहादुर शाही, राजकुमार शर्मालगायत अन्य सांसदहरूले भेट्नुभयो । रमाइलो भयो भन्नुभयो ।’
उनले थपे, ‘केही साथीहरूले भने यसलाई नकारात्मक बुझ्नुभयो । हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छन् मैले त्यसरी नै बुझेको छु अन्यथा सोचेको छैन ।’ यस्तै सभामुख गुरुङले सामान्य विषयलाई ठूलो बनाएर सांसदको भिडियो भाइरल गराएको बताइन् । उनले प्रदेश सभा बैठकमा हाँस्ने विषय सामान्य भएको हुँदा यसलाई अन्यथा बनाउनुपर्ने जरुरी नरहेको बताइन् ।
‘यो सामान्य विषय थियो, उहाँ सांसद रमाइलो तरीकाले बोल्नुहुन्छ । उहाँ बोल्ने बित्तिकै अरू सांसद पनि हाँस्नुभएको थियो ।’ सभामुख गुरुङले खबरदृष्टिसँग भनिन्, ‘अरू हाँसेपछि म पनि हाँसे उहाँ पनि हाँस्नुभयो । यसलाई धेरै ठुलो बनाएर ट्रोल बनाउन जरुरी नै छैन,’ उनले थपिन्,
‘हामी सधैँ हाँस्ने पनि होइन कहिलेकहीँ हाँस्ने हो । मलाई धेरै ठूलो गलत हो जस्तो लाग्दैन ।’ सांसद हमालले एकछिनसम्म हाँसेपछि कर्णालीका अधुरा सडकबारे सरकारको ध्यानाकर्षण गराएका थिए । उनले हुम्ला जिल्लाको धेरै ग्रामीण सडक अधुरा रहेको बताएका थिए । उनले अब बजेट बनाउने अवस्था आइरहेको हुँदा ती अधुरा सडकहरूलाई विशेष बजेटको व्यवस्था गर्न सभामुखमार्फत आग्रह गरेका थिए ।
उनले भनेका थिए, ‘हुम्ला जिल्लाको धेरै ग्रामीण रोड अधुरा छन् । अब यो बजेट बनाउने अवस्था आइरहेको छ । सभामुख महोदय ! ती अधुरा रोडहरूलाई विशेष बजेटको व्यवस्था गर्न र ठेक्का धेरै लिने र काम नगर्ने ठेकेदारलाई काम गराउनका लागि सरकारको ध्यानाकर्षण गराउँछु ।’
हमालले एनजिओ आईएनजीओहरू सुर्खेतमा मात्र सीमित नभइ दुर्गम ठाउँहरूमा पनि जानुपर्ने बताए । त्यस्ता संस्थालाई दुर्गममा पठाउन उनले सरकारसँग आग्रह पनि गरेका थिए ।