२०८३ वैशाख ८ , मंगलबार

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियूको रौनक

कसले मार्ला बाजी ?


सन्तोष भण्डारी, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा ६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन हुन लागेको छ । पटक पटक चुनावको कार्यतालिका सार्वजनिक भएता पनि चुनाव भने सम्पन्न हुन सकेको थिएन । स्ववियु निर्वाचनमा यस पटक विद्यार्थी नेताहरू उत्साहका साथ विद्यार्थीहरूसँग भोट मागिरहेको छन् भने यस पटकको चुनावी माहौल फरक र रोमाञ्चक बनिरहेको छ ।

चैत १८ गते अथार्त भाेलि हुने निर्वाचनका लागि ९ वटा पार्टी निकट विद्यार्थी सङ्घ/सङ्गठन दर्ता भएर चुनावमा होमिएका छन् । निर्वाचन अधिकृत खगेन्द्र अधिकारीका अनुसार नेकपा एमाले निकट (अनेरास्ववियु), नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेपाली काँग्रेस निकट (नेविसंघ), नेकपा एकीकृत समाजवादी, राप्रपा, नेमकिपा, मसाल, धर्मेन्द्र बास्तोलाको नेकपा बहुमत, नेक्रविक्रम चन्द ‘विप्लव’ को नेकपा लगायतका दल निकट विद्यार्थी सङ्गठन दर्ता भएसँगै स्वतन्त्रबाट पनि उम्मेदवारी दिएका छन् ।

यसअघि मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा ०७३ साल भदौमा चुनाव भएको थियो । ०७३ भदौमा भएको निर्वाचनमा नेविसंघका झक्क बहादुर शाही स्ववियु सभापति निर्वाचित भएका थिए भने सचिवबाट अनेरास्ववियुका भरत शाही निर्वाचित भएका थिए । स्ववियु कार्यसमितिको पदावधि साढे २ वर्षको हुने व्यवस्था छ तर तत्कालीन उपकुलपति उपेन्द्र कोइरालाले स्ववियु कार्यसमितिको कार्यकाल पूरा नहुँदै विघटन गरिदिएका थिए ।

स्ववियु निर्वाचन कार्यविधिमा ३ पदाधिकारी (अध्यक्ष, सचिव र कोषाध्यक्ष) र १४ जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन्, र ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने व्यवस्था छ । त्यसपछि कार्यसमितिले १४ जना निर्वाचित सदस्यहरूमध्ये एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था रहेको छ । यसपछि कार्य समितिमा ५ पदाधिकारी र १२ जना सदस्य हुनेछन् ।

विद्यार्थी सङ्गठनहरूको दबाबमा तीन वर्षपछि ०७९ चैत ३ गते स्ववियु निर्वाचनको मिति तय गरिएको थियो । तर मतदानको पाँच दिन अघि उच्च अदालत सुर्खेतमा दायर रिटका कारण निर्वाचन स्थगित भएको हो । रिटमा व्यवस्थापन सङ्काय (मुसोम) का विद्यार्थीहरूले आफूलाई पनि निर्वाचनमा सहभागी हुन दिनुपर्ने माग गरेका थिए। त्यसपछि अदालतले निर्वाचन स्थगित गर्ने आदेश दिएको थियो ।

विश्वविद्यालयका विभिन्न क्याम्पसहरूमा चुनाव सम्पन्न भए तापनि केन्द्रीय क्याम्पसमा मुद्दा–मामिलाका कारण चुनाव रोकिएको थियो । गत भदौमा चुनाव हुने भनिएको थियो । यद्यपि अन्तिम समयमा आएर चुनाव स्थगित भएको थियो । विज्ञान र प्रविधि सङ्कायका विद्यार्थीहरूले मतदानमा भाग नदिइएको भन्दै उच्च अदालतमा पुनः रिट दायर गरेका थिए ।

जसमा अदालतले निर्वाचन स्थगित गर्न आदेश दिएको थियो । हाल अदालतको आदेशपछि चैत २० गतेभित्र चुनाव सम्पन्न गर्नुपर्ने बताइएको छ । यससँगै विश्वविद्यालयमा चुनावको माहौल फेरि तातिएको छ ।

कुन सङ्कायबाट कति मतदाता विद्यार्थी 

मध्यपश्चिम विश्वविद्यालयमा ४ हजार ३८३ मतदाता रहेका छन् । जसमध्ये व्यवस्थापन सङ्कायमा ९ सय ४६ रहेका छन् भने मानविकी सङ्कायमा ९ सय ९२, इन्जिनियरिङ सङ्कायमा ४ सय ५०, शिक्षा सङ्कायमा ९ सय ७५, विज्ञान तथा प्रविधि सङ्कायमा ५ सय ३३, कानुन सङ्कायमा २ सय ५४ र कृषि तथा वन विज्ञान सङ्कायमा १ सय ८६ रहेका छन् । जसमध्ये पिएचडी र एमफिलमा ४७ जना विद्यार्थी मतदाता रहेका छन् ।

एक्ला एक्लै भिड्दै संगठन


स्ववियु निर्वाचन लामो समयपछि हुँदै छ । स्ववायुलाई दलहरूले समेत प्रतिष्ठाको विषय बनाएका छन् । यस समयमा, विभिन्न राजनीतिक दलका नेताहरूको चहलपहल एमयूमा देख्न सकिन्छ । अहिले स्ववियु निर्वाचन सबैका लागि चासोको विषय बनेको छ । जहाँ राजनीतिक दलका भातृ सङ्गठनहरूले गठबन्धन नगरी एक्लै चुनावी मैदानमा होमिएका छन् । यी सङ्गठनहरूले विभिन्न एजेन्डा प्रस्तुत गर्दै विद्यार्थीहरूलाई आकर्षित गर्न प्रयास गरिरहेका छन् ।

माओवादी निकट अखिल (क्रान्तिकारी) बाट अध्यक्ष पदका उम्मेदवार छन्, प्रकाश विक । १८ वटा चुनावी एजेन्डासहित उनको सङ्गठन चुनावी मैदानमा होमिएको छ । विश्वविद्यालयलाई अनुसन्धान, अन्वेषण र आविष्कार केन्द्रको रूपमा विकास गर्ने, शिक्षालाई प्रयोगात्मक र व्यवहारिक बनाउने, पाठ्यक्रमको नवीनतम संशोधनमा पहल गर्ने, र विद्यार्थीहरूको लागि विभिन्न सुविधाहरू सुनिश्चित गर्ने गरी महत्त्वपूर्ण एजेन्डा अघि सारेको छ ।

यसमा परीक्षा समयमै सञ्चालन, कागजातको द्रुत उपलब्धता, उद्यमशीलता प्रोत्साहन, छात्रवृत्ति र इन्टर्नसिपको व्यवस्था, र अपाङ्गता भएका विद्यार्थीहरूको लागि सहुलियतपूर्ण संरचनाको निर्माण पनि समावेश छ। विश्वविद्यालयको बजेट पारदर्शी र विद्यार्थीमुखी बनाउनको साथै, होस्टेल व्यवस्थापन र छात्रा सहायता कक्षको पनि व्यवस्था गरिन लगायतका एजेन्डा अखिल क्रान्तिकारी ल्याएको छ ।

विकको टिमबाट सचिवमा मोहन चौलागाइँ, कोषाध्यक्षमा दीप बहादुर सुनार, सदस्यमा रेखा बोहरा, रमेश शाही, संस्कृति विष्ट, गगनबहादुर थापा, रोशन रोकाया, जनक बुढा, निश्चल बस्नेत उम्मेदवार छन् । नेकपा एमाले निकट विद्यार्थी सङ्गठनबाट अध्यक्ष पदमा जगतजगं शाहीले का उम्मेदवार छन् । उनी व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तह अध्ययनरत छन् ।

२१ वटा चुनावी एजेन्डासहित उनको सङ्गठन चुनावी मैदानमा होमिएको छ । स्ववियु संस्थाले विद्यार्थीका समस्याहरू समाधान गर्ने र विश्वविद्यालय सुधारका लागि बहस गर्ने थलो बन्ने छ । तालाबन्दीको संस्कारको अन्त्य गर्दै, नियमित कक्षा सञ्चालन र विश्वविद्यालयको अध्ययन पश्चात् बजारमै उपयुक्त जनशक्ति उत्पादनका लागि पाठ्यक्रममा सुधार गरिनेछ ।

अनेरास्ववियुले विश्वविद्यालयको सेवा प्रवाहलाई डिजिटल प्रविधिको माध्यमबाट थप प्रभावकारी बनाउन, शैक्षिक गुणस्तर सुधारका लागि अतिथि शिक्षण र डिजिटल सिकाई लाई प्रोत्साहन गर्नेसँगै पुस्तकालय, इ–पुस्तकालय, ल्याब, स्वच्छ पानी र शौचालयको व्यवस्थापनलाई जोड दिने, विद्यार्थीको सर्वागिण विकासका लागि खेलकुद र व्यक्तित्व विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

त्यस्तै विश्वविद्यालय शिक्षण र सिकाईका अवसरहरू बढाउने, प्राविधिक शिक्षामा प्राथमिकता दिने, र छात्रवृत्ति कोटा बढाउने साथै, छात्रा स्वास्थ्य र स्वास्थ्य क्लिनिकको व्यवस्था गर्दै विश्वविद्यालयलाई प्रविधिमैत्री र अपाङ्गमैत्री बनाउन पहल गर्ने उत्तीर्ण विद्यार्थीहरूको रोजगारी र उद्यमशीलताका अवसरहरू सृजना गर्न सरकारी, गैरसरकारी र निजी क्षेत्रसँग समन्वय गरी रोजगारी सिर्जना गर्ने लगायतका प्रतिबद्धता ल्याएको छ ।

शाहीको टिमबाट सचिवमा भूपेन्द्र भण्डारी, कोषाध्यक्षमा विक्रम सिं मन्दिर मगर, सदस्यमा हिमाल उपाध्यक्ष, सुन्दर शाही, ढाकाराम लामिछाने, पङ्कज रेग्मी, रमेश खत्री, हस्त रोकाया र श्रवण खत्री उम्मेदवार छन् । राजनीतिक दलका भातृ सङ्गठनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका इन्जिनियरिङ सङ्कायमा अध्ययनरत मिलन बिसी विद्यार्थीका लागि विभिन्न एजेन्डा ल्याएर चुनावी मैदानमा होमिएका छन् ।

उनले विश्वविद्यालयका विभिन्न क्षेत्रमा सुधारका लागि विशेष योजनाहरू अघि सार्दै महिला विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै निःशुल्क सेनेटरी प्याड वितरणको व्यवस्था गर्ने, विश्वविद्यालयमा अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा सक्रियता ल्याउन लागि विशेष पहल गर्ने बताएका छन् ।

त्यस्तै विश्वविद्यालयको सम्पूर्ण प्रशासनलाई डिजिटल बनाउन पहल गर्ने, अतिरिक्त, विद्यार्थीहरूको लागि छात्रावास व्यवस्था गर्ने, २० प्रतिशत छात्रवृत्तिको कोटा सुनिश्चित गर्ने र सुनियोजित इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्ने, विश्वविद्यालयमा खेलकुद विभागको स्थापनासँगै, नियमित खेलकुद प्रतियोगितादेखि र एमयू विद्यार्थी महोत्सवको आयोजना गर्ने उनको घोषणा पत्रमा उल्लेख छ ।

साथै, विकेन्द्रीकृत र एकीकृत एफएसयूको स्थापना गर्ने योजना रहेको छ जसले विद्यार्थीहरूको आवाज र अधिकारलाई सशक्त बनाउने लगायतका स्वतन्त्र उम्मेदवार मिलन बिसीले ल्याएको छन् । नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन (नेविसंघ) बाट विवेक खड्का अध्यक्ष पदका उम्मेदवार रहेका छन् । नेविसंघले ११ वटा चुनावी बुदाँहरु ल्याएको छ ।

विद्यार्थीको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा, चमेना गृहको निर्माण तथा सञ्चालन, सहुलियत विद्यार्थी विशेष प्याकेज, विश्वविद्यालयको आधार भौतिक पूर्वाधार, हरेक क्याम्पसमा आवश्यक उपकरण र स्वास्थ्यकर्मी सहितको हेल्थ सेन्टर लगायतका ५० भन्दा बढी एजेन्डा नेविसंघका छन् ।

यस्तै खड्का टिमबाट सचिवमा भूपेन्द्र आचार्य, कोषाध्यक्षमा लोकप्रसाद रिजाल तथा सदस्यहरूमा विकास कुमार थापा, निशान्त शाही, शिव ढकाल, गणेश थापा, प्रतीक्षा थापा, विष्णुराज सिंह, प्रकाश सिंह छन् ।

प्रकाशित मिति : २०८१ चैत १७ गते आइतबार