
सुर्खेत । यति बेला एउटा सरकारी कार्यालयको एक डिजिटल बोर्डमा ‘आई लभ यू प्रमिला’ लेखिएको तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ छ । उक्त तस्बिरलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले ‘ट्रोल’ बनाइरहेका छन् । उक्त दृश्य रुकुम पश्चिम आठबीसकोटको हो ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयमा राखिएको ‘डिजिटल बोर्ड’ मा आइतवार उक्त दृश्य कैद भएको हो । कार्यालयको डिजिटल बोर्ड ह्याकरले ह्याक गरेर नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले साे गरेको नगरपालिकाका मेयर रबि केसी जानकारी दिए । उनकाअनुसार ह्याकरले कार्यालयको बोर्डमा ’आई लभ यू प्रमिला, आई रिएल्ली लभ यू’ भन्ने शब्दहरू लेखेर डिस्प्ले गरेका छन् ।
यस्तै कार्यालयका प्रमुख मन आग्रीले आफू बाहिर रहेका कारण बोर्डको नाम परिवर्तनको बारेमा भर्खरै जानकारी पाएको बताए । नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर बिष्टले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । उनले थपे, जिल्ला प्रशासन कार्यालय र अनुसन्धान गर्ने अन्य निकायलाई यसको बारेमा जानकारी गराइएको बताए ।
यसअघि पनि विभिन्न सरकारी कार्यालयका डिजिटल बोर्डहरू ह्याकरहरूले ह्याक गरेका छन् । केही दिन पहिले भरतपुरको विद्युत प्राधिकरणको कार्यालयको बोर्डमा प्रधानमन्त्री विरुद्धको नारा प्रक्षेपित गरिएको थियो ।