
विरोध सभामा सहभागी भएका जाजरकोटका पत्रकार
जाजरकोट । पत्रकार सुरेश रजक र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ जाजरकोटले विरोध सभा आयोजना गरेको छ । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आम सञ्चार माध्यममाथिको ज्यादतीविरुद्धमा महासंघ जाजरकोटको आयोजनामा सदरमुकाम खलंगामा विरोध सभा गरिएको हो ।
पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष बिनोद घर्तीको अध्यक्षतामा भएको विरोध सभामा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, पत्रकार र मिडिया हाउसमाथिको आक्रमण बन्द गर, नागरीकको स्वतन्त्रता पुर्वक बाँच्न पाउने हकको सम्मान गर लगायतका विभिन्न प्ले कर्ड सहितको ¥यालीले खलंगा बजार परिक्रम गरेको थियो ।
कार्यक्रममा उपाध्यक्ष घर्तीले संविधानको व्यवस्था अनुसार शासन सत्ताको नेतृत्व लिन राजावादीलाई आग्रह गरे । उनले आम नागरिक जस्तै पूर्व राजालाई पनि चुनाव लड्ने र शासन गर्ने अधिकार रहेकाले हिंसात्मक गतिविधि त्यागेर व्यवस्था अनुसारको प्रक्रियामा सहभागी हुन आह्वान गरे ।
पत्रकार, संचारगृह र आम नागरिकका सम्पत्ति माथिको आक्रमण गर्न बन्द गर्ने राजनीतिक दलहरूलाई आग्रह गरे । उनले पूर्वराजाले शासनकालमा जस्तै आम नागरिक र संचारमाध्यम कथित राजावादीको निशानामा परेको बताए ।
शुक्रबार भएको राजावादीहरूको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो ।