२०८३ वैशाख ८ , मंगलबार

भत्कियो दुई शताब्दी पुरानो जाजरकोट दरबार



बुधबार रातिको वर्षाले भत्किएको जाजरकोट दरबार । तस्बिर : कुलेन्द्र शाही

जाजरकोट। ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको जाजरकोट दरबार भत्किएको छ । विसं १८५२ मा १६ औँ जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको दरबार बुधबार रातिको अविरल वर्षासँगै आएको हावाहुरीले भत्किएको हो । बुधबार रातिको अविरल वर्षाले ‘सेतो दरबार’ भनेर चिनिएको दरबार भत्किएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी समीर गौतमले जानकारी दिए ।

उनका अनुसार दरबारको छानोको अगाडिको भाग भत्किएको हो । दरबार गत वर्ष कात्तिक १७ गतेको भूकम्प र चैत २२ गते जाजरकोट कुशेको पैङ्क केन्द्रविन्दु भएर आएको भूकम्पबाट पूर्ण रूपमा चर्किएको उनले बताए ।  “२०८० कात्तिकमा गएको भूकम्पबाट चर्किएको थियो । त्यसपछि दरबार प्रयोगविहीन भएको थियो,” उनले भने, “केही दिनअघि आएको भूकम्पबाट दरबार झन् चर्किएको थियो । बुधबारको पानी र हावाहुरीले पूरै भत्काइदियो ।”

जाजरकोट दरबार गत वर्षको कात्तिकमा आएको भूकम्पबाट चर्किएको पनि तेस्रो पटक थियो । त्योभन्दा पहिले पनि भूकम्पले दरबारलाई क्षतिग्रस्त बनाएको थियो । दुवै पटक दरबार पुनर्निर्माण गरिएको थियो । सुरुमा १९९० माघ २ गते नेपाल र भारत केन्द्रविन्दु भएर गएको आठ रेक्टर स्केलको भूकम्पले दरबार पूर्ण रूपमा भत्किएको थियो । उक्त भूकम्पलाई दरबारमा क्षति पु¥याएको शक्तिशाली विपत्का रूपमा जाजरकोटवासीले लिएका छन् ।

भूकम्पले क्षति पु¥याएको जाजरकोट दरबारलाई फेरि पनि जाजरकोटी जनताको श्रमदानमा पुनर्निर्माण गरिएको थियो । जाजरकोट दरबारको पुनर्निर्माण गर्दा भक्तपुरबाट नेवार समुदायका कालिगड बोलाइएको स्थानीयको भनाइ छ । सेतो दरबारले दोस्रो पटक भूकम्पीय क्षति भोगेको २०४५ सालमा हो ।

२०५१ सालमा पुनर्निर्माण गरिएको हो । केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र जाजरकोट दरबार पनि परेको छ । खलङ्गाको सबैभन्दा अग्लो स्थानमा अवस्थित दरबार ऐतिहासिक एवं सांस्कृतिक दृष्टिले महìवपूर्ण सम्पदा मानिन्छ ।

प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार