
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका–९ को वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बिहीबार शिवालय गाउँपालिका–९ नहाँडास्थित वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाका नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, निजी तथा सार्वजनिक सङ्घ संस्थाको प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष प्रमुख जबाफदेही वक्ता र वडा सचिव, स्वास्थ्य निकाय जबाफदेही वक्ताका रूपमा थिए । कार्यक्रममा करिब ९० जना नागरीहरूको उपस्थितिमा रहेको थियो । कार्यक्रममा वडाध्यक्ष दीपक खड्काले चालु आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन भएका कामहरूको बारेमा वडावासीलाई जानकारी गराएका थिए ।
उनले वडा कार्यालयलाई प्राप्त बजेटको आधारमा भए गरेका उपलब्धिहरूलाई सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी गराएको वडा सचिव टेकेन्द्र पुनले जानकारी दिए । कार्यक्रममा सहभागीले केही प्रश्न तथा जिज्ञासा राखेका थिए । उनीहरूले विद्युत् नपुगेका टाेल बस्तिहरूमा विद्युत् सेवा विस्तार गर्न वडालाई आग्रह गरे ।
उनीहरूको सवालको उत्तर दिँदै अध्यक्ष खड्काले जनताले दिएको सुझावका आधारमा आगामी नीति कार्यक्रम र बजेट तय गरिने बताए । उनले जनताका असीमित आवश्यकताहरू पुरा गर्न वडा कार्यालय तयार रहेको बताउँदै वडामा छिट्टै विद्युत् लाइन विस्तार गर्ने प्रतिबद्धता जनाए ।
पछिल्लो समय वडामा पूर्वाधार क्षेत्रमा देखिने गरी काम भइरहेको र विकासका विभिन्न आयोजनाहरूमा ६० प्रतिशत काम सम्पन्न भएको वडाध्यक्षले बताए । साथै वडाध्यक्ष खड्काले सकारात्मक रूपमा विकासका आयोजनामा वडावासीहरूलाई पूर्ण रूपमा सहयोग गर्न समेत आग्रह गरे । उनले वडामा देखिएका विभिन्न समस्याहरूलाई समाधान गर्ने, वडामा आएको बजेट फ्रिज हुन नदिने, नमुना तथा पूर्ण सरसफाइयुक्त वडा बनाउने लगायतका कार्यहरूमा सबैकाे हातेमालाे हुनुपर्ने जोड दिए ।