
जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । छेडागाड नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग तथा नगरपालिकाको आर्थिक सहकार्यमा वडा नं ५ फुर्किचौरमा उक्त केन्द्र स्थापना गरिएको हो ।
आँखाका रोगीलाई लक्षित गरी सोमबार एक कार्यक्रमकाबिच नगर प्रमुख रत्न बहादुर खड्काले केन्द्रको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । केन्द्रको उद्घाटन गर्दै प्रमुख खड्काले नजिकै उपचार केन्द्र सञ्चालन भएपछि आँखाको जाँच गराउन, सुविधाको उपभोग गर्न सबैलाई अनुरोध गरे ।
उनले नियमित आँखाको जाँच गरी आँखाको स्वास्थ्यमा सुधार ल्याउने, समयमै रोग पहिचान गर्ने उद्देश्यले उपचार केन्द्र स्थापना गरिएको बताए । उपचार केन्द्रलाई भरपर्दो र विश्वसनीय सेवा केन्द्र बनाउन दक्ष जनशक्ति र उपकरणहरूको व्यवस्थापन गर्दै शीघ्र स्तरोन्नति गर्न आवश्यक रहेकोमा जोड दिए ।
केन्द्र स्थापनासँगै नगरपालिकाका वडाबाट स्क्यानिङ गरिएका १ सय ५० जना आमाबुवाको मोतिविन्दु शल्यक्रिया समेत सुरु भएको छ । आँखाको सामान्य समस्याका लागिसमेत अन्यन्त्र जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्य राखेर आँखा उपचार केन्द्र खोलिएको भन्दै नगर प्रमुख खड्काले आगामी दिनमा उपचारका सहजता आउने विश्वास पालिकाले लिएको बताए ।