सुर्खेत । मुलुकको शान्ति सुरक्षाको जिम्मेवार निकाय नेपाल प्रहरीका ७ वटै प्रदेश कार्यालयहरू नेतृत्वविहीन भएका छन् । प्रदेशको दरबन्दीमा रहेका ७ वटा प्रदेशमध्ये ४ प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा र ३ जना अवकाशमा गएपछि प्रदेश प्रहरी नेतृत्वविहीन भएका हुन् । जसमा कर्णाली प्रदेशमा पनि चैत ५ गतेदेखि डीआईजी पद रिक्त छ ।
कर्णालीमा प्रदेश प्रहरी कार्यालयको नेतृत्व समालिरहेका प्रहरी नायब महानिरीक्षक(डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा भएपछि उक्त पद रिक्त भएको हो । भट्टराईलाई फागुन ११ गते बसेको बढुवा समितिले एआईजीमा सिफारिस गरेको थियो । साथै २२ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गरेको थियो ।
एआईजी रवीन्द्र केसीले माघ २७ मा राजीनामा दिएपछि भट्टराई एआईजी बनाइएको हो । एआईजीमा बढुवा भएका भट्टराईको कार्यकाल गत चैत ५ गतेदेखि सकिएपछि कर्णाली प्रदेश करिब डेढ महिनादेखि खाली छ । सो पद खाली भएपछि प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिइएको छ । उनी प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रवक्ता एवम् सूचना अधिकारी हुन् ।
उनलाई निमित्त दिइएको भएपनि सबै जिम्मेवारी भने उनलाई नभएको प्रदेश प्रहरी कार्यालयको उच्च स्रोतले जनाएको छ । ‘उहाँलाई निमित्त तोकिएको छ, तर सबै जिम्मेवारी उहाँलाई हुँदैन,’ उच्च स्रोतले भन्यो, ‘उहाँ नहुँदा समन्वय तथा अन्य धेरै कुरामा समस्या हुन्छ, तर समस्या भएपनि यहाँ को कहिले आउँछ केही थाहा छैन,’ यस्तै प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजन चपागाईले प्रदेश प्रमुख नहुँदा देखि खालका समस्याहरु केही नभएको भन्दै कुराहरु लुकाउन खोजे ।
‘हाम्रो तवरबाट हेर्दा केही समस्या देखिँदैन्,’ उनले भने, ‘तर पदमा मान्छे हुनु र नहुनुमा भने केही फरक पर्छ नै ।,’ यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले प्रदेश प्रमुख नहुँदा विभिन्न समन्वयमा समस्या हुने बताए । यस्ता विभिन्न समस्या हुँदा पनि प्रदेश प्रमुखका रुपमा को आउने भन्नेबारे केही टुंगो छैन् ।
यसका लागि पुराना डीआईजी पठाउने वा नयाँ बढुवा भएकाहरूलाई पनि मौका दिने भन्नेमा प्रहरी नेतृत्व र राजनीतिक नेतृत्वबीच मतभेद देखिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । अहिले नेपाल प्रहरीमा १० डीआईजी रिक्त छन् । डीआईजी बढुवाका लागि २१ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रस्साकस्सीमा छन् । गृह मन्त्रालयले लामो समयदेखि खाली रहेका प्रदेशमा प्रहरी प्रमुख खटाउने तयारी गरेको जनाएको छ ।
२५ असार २०७९ मा एसएसपी बढुवा हुने ६ जना र २४ वैशाख २०८० का १५ जना गरी २१ जना एसएसपी १० डीआईजी छनोट योग्यताक्रममा छन् । २०७९ सालमा एसएसपी भएकामध्ये प्रायः डीआईजी भइसकेका छन् भने केही अवकाशसमेत भइसकेका छन् । राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरी प्रहरी सेवामा प्रवेश गरेका माधवप्रसाद श्रेष्ठ, अख्तियारका ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ र विमल बस्नेत डीआईजीका लागि दाबेदारीमा छन् ।
त्यस्तै, १८ चैत २०५४ मा भर्ना भएका नेपाल प्रहरीको १११ टोलीका सुदर्शनप्रसाद कोइराला र दीपक रेग्मी पनि बढुवाको सूचीमा छन् । २४ वैशाख २०८० मा एसएसपपी भएका १५ जनासमेत बढुवाको रोलक्रममा छन् ।वरीयताका आधारमा विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशम्शेर जबरा छन् ।
त्यसपछि एसएसपी गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन पनि डीआईजी बन्ने योग्यताका अधिकृत हुन् । रिक्त १० डीआईजी बढुवा सँगै गर्ने कि त्यसअघि नै भन्ने विषयमा राजनीतिक र प्रशासनिक नेतृत्वबीच तीव्र मतभेद छ ।
एसएसपीबाट बढुवा हुने नयाँ डीआईजीमध्येबाटै केहीलाई प्रदेश प्रहरी प्रमुखका रूपमा खटाउनेगरी राजनीतिक नेतृत्वबाट दबाब आएपछि गृहले सरुवाको क्रम रोकेको मन्त्रालय स्रोतको दाबी छ । प्रहरी प्रधान कार्यालयको रायबमोजिम गृहमन्त्रीस्तरीय निर्णयले डीआईजी सरुवा हुने प्रावधान छ ।
डीआईजीहरूको दौडधुप
प्रदेश प्रहरी प्रमुखका लागि डीआईजीहरूको त्यत्तिकै दौडधुप चलेको छ । कोशी प्रदेश प्रमुखका लागि डीआईजी गोविन्द थपलिया, मधेश प्रदेशमा डीआईजी उमाप्रसाद चतुर्वेदीको नाम तयार पारिएको छ । तर, चतुर्वेदी आफैंले लुम्बिनी प्रदेश जाने रुचि देखाएका छन् । बाग्मती प्रदेश प्रहरी प्रमुखका रूपमा ईश्वर कार्कीको नाम प्रधान कार्यालयले सिफारिस गरेको छ ।
लुम्बिनीमा राजेन्द्र भट्ट जाने प्रहरी प्रधान कार्यालयको सिफारिस छ भने गण्डकीमा अरुण पौडेललाई पठाउने तयारी भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । डीआईजी डम्बरबहादुर विकलाई कर्णाली पठाउने तयारी छ । तर, उनले पहुँचका आधारमा भन्दा पनि कार्यक्षमताका आधारमा कोशी, मधेश वा बाग्मतीमध्ये कुनै प्रदेशको प्रमुख भएर जाने इच्छा व्यक्त गरेको स्रोत बताउँछ ।
सुदूरपश्चिममा दिनेश आचार्यको सिफारिस भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले प्रदेश प्रहरी प्रमुख केही दिनमै पठाउने बताए । उनले त्यसका लागि प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए ।