
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा शव भेटिएकी महिलाको पहिचान खुलेको छ । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओलीको शव रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
उनकाअनुसार गुर्भाकोटबाट घटनास्थलमा पुगेका आफन्तले ओलीको शव पहिचान गरेका हुन् । घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख खड्कासहितको टोली घटनास्थलमा पुगेको थियो । यस्तै घटना रहस्यमय देखिएपछि अनुसन्धानका लागि नेपालगञ्जबाट तालिम प्राप्त कुकुरसहितको टोलीसमेत त्यहाँ पुगेको थियो ।
याे हेर्नुहाेस् – महिलाको शव फेला, पहिचान खुल्न बाँकी
‘घटनास्थलमा मोबाइल, चप्पल लगायतका केही सामाग्री फेला परे,’ घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘त्यति देखिएपछि हामीले शंकास्पद मानेर एक व्यक्तिलाई नियन्त्रणमा लिएका छौ,’ ती अधिकृतका अनुसार पक्राउ पर्नेमा उनकै श्रीमान रहेका छन् ।
साथै शनिवार मात्रै मृतक वलीका भाईले दिदि हराएको भन्दै इलाका प्रहरी कार्यालयमा निवेदन समेत दिएको बुझिएको छ । हाल शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत ल्याउन लागिएको छ ।