समाचार सारांश
- जाजरकोटको शिवालय गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी आयोजना हुने भएकाे छ।
- मेला मंसिर ५ गतेदेखि शिवालय गाउँपालिका–३ को ऐरेली बजारमा सञ्चालन हुनेछ।
- मेलामा खाद्यान्न, तरकारी, फलफूल, अन्नबाली, मसला, नगदेबाली, दलहन–तेलहन तथा रैथाने बाली प्रदर्शनमा राख्न सकिनेछ ।
सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी आयोजना हुने भएको छ। कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले मङ्सिर ५ गतेदेखि शिवालय गाउँपालिका–३ स्थित ऐरेली बजारमा मेला आयोजना हुने गाउँपालिकाले जनाएको छ।
रैथाने बाली लोप हुँदै गएपछि उत्पादन वृद्धि र प्रवर्द्धन गर्न, साथै स्थानीय किसानलाई उत्साहित बनाउन मेलाको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले जानकारी दिए। उनका अनुसार मेलामा व्यावसायिक किसानहरूले खाद्यान्न, तरकारी, फलफूल, अन्नबाली, मसला तथा नगदे बाली, दलहन, तेलहन तथा रैथाने बालीहरू प्रदर्शनीका लागि प्रस्तुत गर्न सक्नेछन्।
मेलामा सहभागी हुन किसानले कृषि उपजका लागि मङ्सिर ५ गतेसम्म दर्ता गराइसक्नुपर्ने छ। स्थानीय उत्पादनको प्रयोग बढाउँदै बाह्य आयात घटाउने लक्ष्यसहित आयोजना गरिएको मेला स्थानीय बालीको संरक्षणमा पनि महत्त्वपूर्ण हुने गाउँपालिकाको दाबी छ। कृषि बाली उत्पादनमा सक्रिय किसानलाई सहभागिताका लागि विशेष आग्रह गर्दै गाउँपालिकाले कृषि मेला प्रदर्शनीमार्फत किसानलाई थप उत्साह प्रदान गरिएको बताएको छ।
सूचना हेर्नुहाेस् –
