
कुलेन्द्र शाही, सुर्खेत । फागुन २१ गते हुने आम निर्वाचन नजिकिँदै गर्दा सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ मा मतदाताको मनोविज्ञान स्पष्ट रूपमा परिवर्तनतर्फ उन्मुख देखिएको छ। लामो समयदेखि एउटै दल र अनुहारलाई मतदान गर्दै आएका स्थानीय मतदाता यसपटक भने पुराना राजनीतिक दल र उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै नयाँ विकल्पको खोजीमा देखिएका छन्।
स्थानीयवासीका अनुसार पुराना दलहरू चुनावको समयमा ठूलो–ठूलो आश्वासन दिने तर जितेपछि जनताको समस्या र आवश्यकता बिर्सने प्रवृत्तिका कारण मतदातामा गहिरो निराशा छाएको छ। उनीहरू भन्छन्– चुनाव आउँदा गाउँ–बस्ती धाउने नेताहरू जितेपछि सिंहदरबार र प्रदेश राजधानीमै सीमित हुन्छन्, जनतासँगको सम्बन्ध केवल चुनावी नारासम्म सीमित रहन्छ।
खबरदृष्टिले सुर्खेत क्षेत्र नम्बर–१ अन्तर्गत पर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१५ मा गरेको स्थलगत सर्वेक्षणमा झन्डै ७० प्रतिशत मतदाता यसपटक ‘परिवर्तन’ चाहने पक्षमा देखिएका छन्। सर्वेक्षणमा सहभागी अधिकांश मतदाताले पटक–पटक निर्वाचित भएका उम्मेदवारहरूले जनताप्रति उत्तरदायी भूमिका निर्वाह नगरेको, विकास निर्माणमा अपेक्षित काम हुन नसकेको र जनजीविकासँग जोडिएका समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन्।
वडा नम्बर–१५ का स्थानीय तिलबहादुर सारूले यसपटक पुराना उम्मेदवारलाई मत नदिने स्पष्ट धारणा व्यक्त गरे। उनले भने, ‘मतदान गर्न दुई घण्टा हिँडेर केन्द्र पुग्नुपर्छ। यति दुःख गरेर गरिने भोट अब फेरि त्यही पुरानालाई किन दिने ?,’ उनले भने, ‘अबको मतदान परिवर्तनका लागि हुनेछ।,’ उनका अनुसार विगतमा पटक–पटक विश्वास गरेर भोट दिँदा पनि जनताको दैनिकीमा कुनै ठोस परिवर्तन नआएकाले यसपटक नयाँ र इमानदार उम्मेदवार खोज्ने समय आएको छ।
त्यसैगरी सोही वडाका तिलक खत्री, हिक्मत बौडेल र सिमोन विकले पनि पुरानै उम्मेदवारलाई दोहोर्याएर मत नदिने मनस्थिति बनाइसकेको बताएका छन्। उनीहरूका अनुसार विगतका जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा अपेक्षा अनुसार काम गर्न नसक्दा मतदातामा निराशा बढ्दै गएको हो।
नयाँ दल र युवाप्रति बढ्दो आकर्षण
सुर्खेतका स्थानीय मतदातामा अहिले नयाँ दल र युवाप्रति आशा पलाएको देखिन्छ। वीरेन्द्रनगर–१५ का हिक्मत सारूले पुराना दलहरूले वर्षौंदेखि आश्वासन मात्र बाँड्दै आएको आरोप लगाउँदै यसपटक योग्य, इमानदार र परिवर्तन ल्याउन सक्ने उम्मेदवारलाई मत दिने बताए।उनले भने, ‘अब एकपटक नयाँलाई मौका दिएर हेर्ने समय आएको छ। पुरानाबाट धेरै आशा गरियो, तर नतिजा आएन।,’ यस्तै, तिलकबहादुर खत्रीले पनि यसपटक दलभन्दा व्यक्ति हेरेर मतदान गर्ने बताए। उनले भने, ‘यदि योग्य उम्मेदवार नदेखिए भोट हाल्नै नजाने सोच पनि बनाएको छु। तर राम्रो उम्मेदवार आयो भने नयाँलाई नै साथ दिनेछु।,’
तिलबहादुर सारूले विगतका अनुभव सम्झँदै भने, हामी भोट दिँदा दिँदा थाकिसक्यौँ, तर पुराना दल र उम्मेदवार भने कहिल्यै नथाक्ने जस्तो देखिन्छ। यसपटक युवा र नयाँ अनुहारलाई अवसर दिनुपर्छ भन्ने सोच धेरैको छ।,’
स्थानीयस्तरमा मात्र होइन ग्रामीण भेगहरूमा पनि पुराना दलप्रति असन्तुष्टि बढ्दै गएको र वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ राजनीतिक शक्तिलाई जिताउने चर्चा तीव्र बनेको छ।