
प्रहरीको कुटपिटबाट घाइते भएका एमाले सुर्खेतका उपाध्यक्ष मोहन बडुवाल
सुर्खेत । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै सुर्खेतमा आयोजना गरिएको राँके जुलुससहितको विरोध प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। २३–२४ भदौको ‘जेन–जी आन्दोलन’ का घटनाबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसअनुसार ओलीलाई प्रहरीले पक्राउ गरेपछि एमालेले देशभर विरोध प्रदर्शन गर्दै आएको छ।
सोही क्रममा सोमबार साँझ जिल्ला पार्टी कार्यालयको आयोजनामा वीरेन्द्रनगरमा निकालिएको राँके जुलुसमा प्रहरी हस्तक्षेप भएपछि स्थिति तनावग्रस्त बनेको हो। एमाले सुर्खेतका उपाध्यक्ष मोहन बडुवालका अनुसार आफूहरूले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरिरहेको अवस्थामा प्रहरी पार्टी कार्यालयमै आएर कार्यकर्तामाथि लाठी प्रहार गरेको आरोप लगाए।
‘हामीले शान्त तरिकाले प्रदर्शन गरिरहेका थियौँ। प्रहरी एक्कासी आएर हाम्रो राँके जुलुस रोक्न खोज्यो र कार्यकर्तामाथि ज्यादती गर्यो,’ उनले भने, ‘लोकतन्त्रमा बोल्न र विरोध गर्न पाइन्छ, तर प्रहरीले गरेको यो व्यवहार निकै निन्दनीय छ।,’ उनका अनुसार प्रहरीको लाठीचार्जबाट एमालेका केही कार्यकर्ता घाइते भएका छन्।
वीरेन्द्रनगरका उपमेयर नीलकण्ठ खनालमाथि पनि लाठी प्रहार भएको र उनी भागेर थप कुटाइबाट जोगिएको बडुवालको भनाइ छ। यता घटनाक्रमका क्रममा एक प्रदर्शनकारीले मुक्का प्रहार गर्दा नगर प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन भट्टराई घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार भीड नियन्त्रणका लागि खटिएका प्रहरी निरीक्षक भट्टराईमाथि एक्कासि मुक्का प्रहार हुँदा उनको अगाडिको माथिल्लो दाँत भाँचिएको छ। प्रहरीमाथि हातपात गर्ने व्यक्तिको खोजी भइरहेको र घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेको बुढथापाले जानकारी दिए।