सुर्खेत । भारतमा मजदुर गरी नेपाल फर्किएका सुर्खेतका तीन जना नागरिक बर्दियाको गुलरियाबाट लुटिएका छन् । लुटिनेमा सुर्खेत चिङ्गाड गाउँपालिका रानिवासका पुर्णबहादुर राना, हरीबहादुर राना र गुमाण खत्री रहेको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
महेन्द्रनगरबाट सुर्खेतका लागि छुटेको ना ७ ख १५७९ नम्बरको गाडिमा बसिरहेको अवस्थामा नशालु पदार्थ मिसाएको चिसो पेय पदार्थ खुवाएर दुईजना महिलाले बेहोस बनाई उनीहरुको साथबाट मोबाईल र नगद २७ हजार भारतीय पैसा लुटेकी हुन् ।
उनीहरु तीन जना बेहोस अवस्थामा गाडिमा ईलाका प्रहरी कार्यालय चिसापानीमा पुगेका थिए । उनीहरुलाई चिसापानीको प्रहरीले उद्धार गरेर स्थानिय मेडिकलमा उपचार गराएको थियो । उनीहरुको अवस्था अहिले सामान्य रहेको छ । लुट्ने महिलाहरु भारतबाट आफुहरुसँगै आएको पुर्णबहादुर रानाले खबरदुष्टिलाई जानकारी दिए ।
‘हामी भारतबाट सँगै आएका थियौँ आईसकेपछि महेन्द्रनगरको एक होटलमा पनि सँगै बस्यौँ । फेरि हामी सुर्खेत जाने भनि गाडिमा बसेका थियौँ । उनीहरुले हाम्रो घर पनि सुर्खेत हो हामी पनि तपाईहरुसँगै जान्छौ भन्नुभयो । अनि सँगै आउँदा बाटोमा स्प्राईट दिनुभयो हामीले खायौँ, । त्यो स्प्राईट सेवन गरेपछि हामी बेहोस भयौँ र त्यसपछि केही थाहा भएन ।’ पुर्णले भने
‘महिलाहरु अन्दाजी ३५ वर्ष जतिको थिईन् नाम ठेगाना केही थाहा छैन तर, उनीहरुले हामीलाई आफ्नो घर पहिले जाजरकोटको जुनिचाँदे भएको हाल सुर्खेत बस्दै आएको बताएकी थिईन् । गाडि चालक वीरेन्द्रनगर नगरपालिका ४ भैरवस्थानका मनिराज रेग्मीलाई नियन्त्रणमा लिएको चिसापानीका प्रहरी निरीक्षक टेकबहादुर जोराले जानकारी दिए ।
‘हामी अनुसन्धानका क्रममै छौ, अहिले नै सबै भन्न सक्ने अवस्था छैन, हामीले सिसि क्यामेरा हेर्दै छौ । केस अलि जटिल छ, हामीले उँहाहरुलाई महेन्द्रनगर पठाउँने तयारी गरेका छौँ प्रहरी निरीक्षक जोराले खबरदुष्टिसँग भने ।
गरिबी र बेरोजगारीका कारण पश्चिम नेपालका दाङ, रोल्पा, प्युठान, रोल्पा, रुकुम, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र हुम्लाका हजारौं नेपाली युवा भारतमा कामको खोजीमा जाने गरेका छन् ।