२०८३ असार १७ , बुधबार

आजको युगमा सिप र क्षमता नभएको नागरिकको काम छैन : प्रदेशसभा सदस्य खत्री



सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले आजको युगमा सिप र क्षमता नभएको नागरिकको काम नभएको बताएका छन् । शनिवार उद्घाटन समारोहका प्रमुख अतिथिका रुपमा रहेका प्रदेशसभा सदस्य खत्रीले डिभिआइटी एकेडेमीलाई शुभकामना दिने क्रममा आजको युगमा सीप र क्षमता नभएको नागरिक कमजोर हुने आशय प्रकट गर्ने क्रममा यस्तो बताएका थिए ।

“आजको युगमा सिप र क्षमता नभएको नागरिकको काम छैन । त्यसैले आजको हरेक नागरिकलाई आत्मनिर्भर बनाउन उनीहरूलाई सिपसहितको ज्ञान प्रदान गर्नु आजको आवश्यक हो ।’’ उनले भने “यति गरेर मात्र पुग्दैन ती हरेक युवाले आफूले सिकेको ज्ञान–सिपलाई आफ्नो परिवार, समुदाय र आफ्नो क्षेत्रमा आफ्नो परिचय बनाउनुपर्छ ।

म आफू पनि नागरिकको जीवनस्तर उठाउन लागि परेको नेता हुँ । यसका लागि हरेक नागरिकलाई सिप र क्षमतावान् बनाउन जरुरी छ । त्यसैले यस डिभिआइटी एकेडेमीले कर्णालीका युवाहरूलाई सिप र ज्ञान प्रदान गरी सक्षम नागरिक बन्न योगदान गर्ने आशा र अपेक्षा राखेको छु ।’’

साथै, खत्रीले आफ्नो निर्वाचन क्षेत्रका केही युवाहरूलाई लोकसेवा आयोगको तयारी कक्षा प्रदान गर्न डिभिआइटी एकेडेमीलाई प्रदेश सरकारको आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दैलेख, कोहलपुर हुँदै डिभिआइटी एकेडेमीले प्रादेशिक राजधानी वीरेन्द्रनगर–८ खजुरामा तेस्रो शाखा विस्तार गरेको छ ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिबार