डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा रहेको नमस्ते सेवाको फोरजी टावर सञ्चालनमा आएको छ । लामोसमय देखि निर्माणाधीन नेपाल टेलिकमको टावर बिहीबारदेखि सञ्चालनमा आएको नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायले जानकारी दिए । अहिले फोन सेवामात्र सुचारु भएको र शुक्रबारभित्र फोरजी इन्टरनेट सेवा सुचारु हुने उनको भनाइ छ ।
टावर सञ्चालनका लागि निरन्तर ताकेता गरेपछि बल्ल सञ्चालनमा आएको नगरप्रमुख रोकायले बताए । उक्त टावर स्थापना कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बीरबहादुर शाहीको पहलमा भएको हो ।
आफ्नो निर्वाचन क्षेत्र त्यसमा पनि नगर क्षेत्रमानै फोन सेवाको असुविधा भएपछि केन्द्रमा निरन्तर पहल गरेर नगरपालिकाको त्रिपुराकोट र दापुमा टावर स्थापना गर्न सफल भएको सांसद शाहीले बताए । त्रिपुराकोटमा रहेको टावर सञ्चालनमा आएपनि दापुमा रहेको टावर भने सञ्चालनमा आउन सकेको छैन् ।
यता नेपाल टेलिकम बबरमहल कार्यालयका उपप्रबन्धक प्रेम क्षेत्रीका अनुसार फोरजी सेवा सञ्चालन गर्न आवश्यक केबल तार नपुगेकै कारण बिहीबार इन्टरनेट सेवा सञ्चालनमा आउन नसकेको र शुक्रबार जहाजबाट पु¥याएर इन्टरनेट सेवा सञ्चालनमा आउने छ । यस लगत्तै अर्को दापुमा रहेको टावर सञ्चालनमा लाग्नुपर्ने उपप्रबन्धक क्षेत्रीको भनाइ छ ।